पराजयबारे एमाओवादीभित्र 'आत्मसमीक्षा'

  • 14 डिसेम्बर 2013
प्रचण्ड
Image caption चुनावी पराजयबारे एकीकृत माओवादीभित्र नेतृत्वमाथिपनि प्रश्न उठेका छन्

संविधानसभाको दोस्रो निर्वाचनमा भएको आफ्नो पराजयमा धाँधली मुख्य कारण रहेको बताउँदै आएको एकीकृत माओवादीभित्र त्यसको गम्भीर आन्तरिक समीक्षा गरिनुपर्ने आवाज उठेका छन्।

आन्तरिक रुपमा जिम्मेवारी अनुसार पार्टी नेतृत्वदेखि तल्ला निकाय सबैले आत्मालोचना गर्नुपर्नेबारे छलफल भइरहेको नेताहरुले बताएका छन्।

चुनाव सकिएको १ महिना पुग्न लाग्दा तेस्रो स्थानमा खुम्चिएको एकीकृत माओवादीले पराजयको कारण आफ‍ुभित्रै रहेको हुनसक्ने भन्दै आत्मलोचना शुरु गरेको छ।

स्वीकार

चुनावमा देशी र विदेशी षडयन्त्र भएको भन्दै छानबिन आयोगको माग गर्दै आएको एकीकृत माओवादीभित्र नेतृत्वदेखि तल्लो निकायसम्मले सामुहिक रुपमै आत्मालोचना गर्नुपर्ने कुरा संस्थागत रुपमा उठेको नेता देवेन्द्र पौडेलले बताए।

"नेतृत्वदेखि तलसम्म सबैले आत्मसमीक्षा गर्नुपर्छ भन्ने विषय आन्तरिक रुपमा उठेको छ।"

पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले चुनावी नतिजालाई उनकै शब्दमा नराम्रो पराजय भन्दै शुक्रबार सामाजिक सञ्जालमै आत्मसमीक्षा गरे।

कमजोरी

उनले विद्यमान राजनीतिक शक्ति‌ र नेताहरुभन्दा तात्विक रुपमा भिन्न हुन र देखिन नसकेको उल्लेख गरेका थिए।

तर कतिपय नेताहरु मूलरुपमा धाँधलीकै कारण चुनावमा पराजय भएको विश्वास गर्छन्।

प्रवक्ता अग्नी सापकोटाले भने, "पहिला त धाँधलीकै कारण पराजय भएको भन्ने हो। त्यसपछि सांगठनिक लगायत कति विषयमा हाम्रो कमजोरी रहेकोले पनि आत्मालोचना शुरु हुन थालेको छ।"

आन्तरिक रुपमा पराजयको बहस पार्टीभित्र चलेको नेताहरुले बताए पनि अध्यक्ष प्रचण्डले भने यसबारे अहिलेसम्म मुख खोलेका छैनन्।

चुनावअघि पदाधिकारीहरुको भागबन्डाको विषयलाई लिएर एकीकृत माओवादीले चरम संगाठनिक विवाद खेपेको थियो ।

अब पुस ९ गते शुरु हुने भनिएको उसको केन्द्रीय समितिको बैठकमा चुनावी परिणामको आत्मसमीक्षाको विषय जोडदार रुपमा उठ्ने देखिन्छ।