पुर्ख्यौली गाउँ कुनुमा मण्डेलाको अन्त्येष्टी

  • 15 डिसेम्बर 2013
Image caption रंगभेद विरोधी नेता मण्डेलालाई संघर्षको पर्यायका रुपमा लिने गरिन्छ।

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपती नेल्सन मण्डेलाको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ।

उनको शवलाई पूर्वी केपको कुनुमा रहेको उनको बाल्यकालको घर नजिकको पारिवारिक जग्गामा समाधिस्थ गरिएको थियो।

समाधी अघि राजकिय सम्मानका साथ आयोजित अन्त्येष्टीमा अल्पसंख्यक गोराहरुको शासनबाट दक्षिण अफ्रिकालाई मुक्त गरेका मण्डेलाप्रति अफ्रिकी नेताहरु, उनका मित्रहरु र परिवारका सदस्यहरुले सम्मान व्यक्त गरेका थिए।

रिक्तता

वर्तमान राष्ट्रपति जेकोब जुमाले मण्डेलाको स्वतन्त्रताको लामो यात्राको अन्त्य भएको र दक्षिण अफ्रिकीहरुले अब उनको विरासत सम्हाल्नुपर्ने बताए।

मण्डेलाकी नातिनी नन्दीले दक्षीण अफ्रिकीहरुले एक अर्कालाई औलाँ ठड्याउन छाडेर मण्डेला जस्तै उदाहरण बन्नुपर्ने बताइन्।

मण्डेलासँगै राजनीतिक वन्दी रहेका अहमद काथ्राडाले आफूले दाजू गुमाएको, उनको जिवनमा रिक्तता छाएको र अब कसको सहारा लिने आफूलाई थाहा नभएको बताए।

मन्डेलालाई उनकै झोसा समुदायको परम्परा बमोजिम समाधिस्थ गरिएको थियो।

उनको पारिवारिक जमीनमा बनाइएको समाधिस्थलमा शवपेटीका गाडिँदा उनकी विधवा ग्रासा मेशेल र वर्तमान राष्ट्रपति जेकोब जुमा उपस्थित थिए।

अन्य सयौं पाहुनाहरु पनि उक्त समारोहमा उपस्थित थिए।

दक्षिण अफ्रिकाको झण्डा फहराएका तीनवटा हेलिकप्टरहरु समाधिस्थलमाथि उडेका थिए।

त्यसपछि जहाजहरु कुनुमा धुवाँको मुश्लो छोड‍दै उडाइएका थिए लगत्तै गोली पडकाएर सलामी चढाइयो र विरता प्रदर्शन गर्नेहरुको अन्त्येष्टिमा सुनाइने संगितको धुन बजाइएको थियो।

राजकीय सम्मान

राजकीय सम्मानसाथ गरिएको अन्त्येष्टी बन्दुक पडाइएको सलामीबाट शुरु भएको थियो र उनको पार्थिव शरिरलाई पुर्ख्यौली घरबाट विशेष रुपमा बनाइएको समाधिस्थलमा पुर्‍याइँदा त्यहाँ हजारौं शोकमग्नहरु जम्मा भएका थिए।

उनको शवपेटीकालाई सैन्य टुकडीले बिशेष सैन्य सम्मान सहित समाधिस्थल पुर्‍याएको थियो।

अन्त्येष्टि समारोह राष्ट्रिय गानको वाचनबाट शुरु गरिएको थियो।

मण्डेलाको झोसा समुदायका एक जना गायकले प्रशंसा गीतबाट समारोहमा संबोधन गरेका थिए।

नेल्सन मण्डेलाको अर्धकदको तस्विर उनको उमेर जनाउने ९५ वटा मैनबत्तीको पछाडि राखिएको थियो।

उनको अन्त्येष्टीलाई दक्षिण अफ्रिकाका धेरै ठाउँमा ठूल्ठूला स्क्रिनहरुमा देखाइएको थियो र त्यसलाई हेर्न हजारौं मानिसहरु जम्मा भएका थिए।