सहमति नभए हाम्रो सूची बुझाउँछौं: कांग्रेस

  • 15 डिसेम्बर 2013
प्रचण्ड
Image caption चुनावमा तेस्रो स्थान पाएको एकीकृत माओवादीले धाँधली र षडयन्त्र भएको आरोप लगाएको छ

एकीकृत नेकपा माओवादीसंग छिट्टै सहमति हुन नसके, आफुहरुले समानुपातिकतर्फको विजेता सभासदको सूची बुझाउने तथा ऊ विनै भएपनि संविधानसभाको बैठक डाकिने, नेपाली कांग्रेसका उपसभापतिले बताएका छन्।

निर्वाचनमा भएको भनिएको धाँधलीको उच्चस्तरिय आयोगमार्फत छानबिन लगायतका आफ्ना माग पूरा नगरिए त्यस्तो सूची नबुझाउने एकीकृत माओवादीको अडान छ।

छानबिन विवाद

तर कांग्रेस र एमालेले आयोगको साटो संसदीय छानबिन गर्न सकिने बताएका छन्।

शनिबार बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठकमा एकीकृत माओवादी र नेपाली कांग्रस तथा नेकपा एमालेबीच माओवादीले उठाएको धाँधलीको विषयमाथि छानबिन गर्न संयन्त्रबारे कुनै सहमति नभएपछि आईतबार पुन: समितिको बस्न लागेको हो।

दलहरुबीचको विवाद कायमै रहेको बेला निर्वाचन आयोगले समानुपातिक तर्फ विजेता सभासदहरुको सूची बुझाउन दिएको म्याद बुधबार सकिंदैछ।

अब छिट्टै सहमति नभए आफ्नो दलले सूची बुझाउने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

“हामी त अब बुझाउँछौं। त्यसपछि जति जान्छन् त्यतिको संसद बैठक बस्न सक्छ,” उनले भने।

यसअघि सूची बुझाउने म्याद एकपटक थपिसकेको निर्वाचन आयोग अब पुन: म्याद थप्ने मनस्थितिमा छैन।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, “प्राप्त भएका नामहरुलाई अन्तिम रुप दिनेपट्टि हामी लाग्नेछौं। बाँकि विवादका विषय भनेको संवैधानिक र राजनीतिक हो। त्यो राजनीतिक दल तथा सरकारले सम्बोधन गर्ने विषय हो।”

निर्वाचन परिणामलाई लिएर बल्झिएको बखेडा समाप्त नहुँदा, चुनाव भएको एक महिना वित्न लाग्दा समेत दोस्रो संविधानसभाको पहिलो बैठक कहिले बस्ने भन्ने ठेगान लागेको छैन।