चिलीमा नयां राष्ट्रपति निर्वाचित

  • 16 डिसेम्बर 2013
मिशेल ब्याचलेट
Image caption चिलीमा समाजवादी उम्मेदवार मिशेल ब्याचलेट राष्ट्रपति पदमा निर्वाचित भएकी छिन्

चिलीको राष्ट्रपतिय निर्वाचनमा समाजवादी उम्मेदवार मिशेल ब्याचेलेट विजयी भएको त्यहांका निर्वाचन अधिकारीहरुले बताएका छन्।

राष्ट्रपतिय निर्वाचनमा अन्तिम चरणको मतदानको आधा भन्दा बढी मत गणना भैसक्दा उनले साठी प्रतिशत भन्दा बढी मत प्राप्त गरेकी देखिएका छ।

उनकी निकटतम प्रतिद्वन्द्वी इभलिन माथेइले पराजय स्वीकार गरेकी छिन्।

समाजवादी उम्मेदवार मिशेल ब्याचलेटले आफ्ना एकमात्र प्रतिद्वन्द्वी, मध्य दक्षिणपन्थी गठबन्धनका उम्मेदवार इभलिन माथेईलाई सजीलै पराजीत गरेकी थिइन्।

निर्वाचन अभियान आरम्भ भएदेखि नै मिशेल अग्रस्थानमा देखिएकी थिइन्।

र मत गणना परिणाम आउंदा मानिसहरुले अनुमान गरे अनुसार नै देखियो र उनी देशको नयां राष्ट्रपति बनेकी छिन्।

पराजय

मतदान सम्पन्न भएको एकघण्टा भित्र नै इभलिन माथेईले पराजय स्वीकारेकी थिइन्।

पछिल्लो मतगणना परिणामले मिशेल ब्याचलेटको उल्लेखनीय विजय भएको देखाएको छ।

उनी चिलीमा पिनोशेको अधिनायकवादी शासनकालपछि दोस्रो कार्यकालका लागि पनि निर्वाचीत हुने पहिलो राष्ट्रपति हुंदैछिन्।

Image caption पिनोशेकालपछि दुई पटक राष्ट्रपति हुने मिशेल ब्याचलेट पहिलो हुन्

चिलीको कानून अनुसार राष्ट्रपतिहरुले लगातार दुई पटक निर्वाचनमा भाग लिन पाउंदैनन् त्यही भएर उनले सन् २०१० मा उम्मेदवारी दिनबाट पछाडी हट्नु परेको थियो।

प्रतिबद्धता

उनले सम्पतिको उचित बांडफांट र शिक्षामा अझ बढी लगानीका साथै ठूला ब्यवसायहरुमा बढी कर लगाइने प्रतिबद्धता जनाएकी छिन्।

तर आफ्ना निकटतम प्रतिद्वन्द्वीको दांजोमा स्पष्ट सहजता हासिल भएको भएतापनि मतदानमा अपेक्षाकृत कम सहभागीतालाई, देशको जनसंख्याको केहि हिस्सा, उनले आफूले व्यक्त गरेका प्रतिबद्धताहरु लागु गराउन सक्छिन् भन्नेमा विश्वस्त नभएको संकेतका रुपमा लिइएको छ।

अब ति ६२ बर्षिय एकल आमा र सन् १९७० को दशकमा पिनोशे शासनकालमा यातना पिडित, महिलालाई आगामी मार्च महिनामा राष्ट्रपति पदको सपथ ग्रहण गराइने छ।