समानुपातिक सूची बुझाउने म्याद दोस्रो पटक थप

  • 16 डिसेम्बर 2013
Image caption ढिलाइले संविधानसभाको पहिलो बैठक माघको दोस्रो हप्तासम्म धकेलिन सक्ने जानकरहरु बताउँछन्

मुख्य दलहरुको आग्रहमा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका ३३५ सभासदको सूची बुझाउने म्याद दोस्रो पटक थप गरेको छ।

बुधवारसम्म रहेको सूची बुझाउने समय अब पुष १० गतेसम्मको लागि थपिएको छ।

असन्तुष्ट सहितका सबै दलहरु एकैचोटी संविधानसभामा आउन भनेर म्याद थप गरिएको एक जना निर्वाचन आयुक्तले बताइन्।

मूल्यांकन

उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य दलका शीर्ष नेताको हस्ताक्षरसहितको लिखितपत्र दलहरुले निर्वाचन आयोगमा बुझाएपछि आयोगले समानुपातिकको नामावली बुझाउने समय सकिनु दुई दिनअघि नै म्याद थपको निर्णय आएको हो।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले नामावली बुझाउने म्याद पुष १० गतेसम्मलाई पुन थपिएको बताएको छ।

संविधानसभामा भाग लिन विभिन्न शर्त राखिरहेको एकिकृत माओवादीसहितका नेताहरुले आयोगमा नै थप समय माग गरेपछि त्यसको उच्च मुल्याकंन गर्दै समय थपिएको निर्वाचन आयुक्त इला शर्माले बताइन्।

उनले भनिन्, ‘सबै दलहरु एकैचोटी संविधानसभामा सहभागी हुन जान्छौं भनेर हामीकहाँ आउनुलाई हामीले उच्च मुल्याकंन गरेका छौं। कानूनको व्यख्या मात्र गर्ने होइन हामीले सहमतिको लागि सहजीकरण गर्न पनि खोजेका हौं।’

चुनावमा धाँधली भएको दावी गरेका एकिकृत माओवादीसहितका दलहरुले राख्दै आएको छानबिन समिति गठनको मागमा सहमतिको प्रयास भैरहेका बेला दोस्रो पटक म्याद थप भएको हो।

ढिलाइ

एकीकृत माओवादीलाई फकाउन भैरहेका वार्ताले मुख्य दलहरुभित्रको समानुपातिक प्रणालीतर्फको मनोनयनको विवाद ओझेलमा परेको देखिन्छ।

पहिलो ठूलो दल नेपाली कांग्रेसले समानुपातिक प्रणालीतर्फको सभासदको मनोनयनको मापदण्ड अझै तय गरेको छैन भने नेकपा एमालेले तय गरेको मापदण्डलाई सो दलको स्थायी कमिटीले अनुमोदन गर्न बाँकी रहेको नेताहरुको भनाइ छ।

निर्वाचन आयोगले थपिएको पुष १० गते कै समयसीमाभित्र नामावली बुझाउन मुख्य दलहरुलाई कबुल गराएको आयुक्त शर्माले बताइन्।

समानुपातिकतर्फको सूची दलहरुले बुझाएपछि निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरी सरकारलाई बुझाउने कानूनी प्रावधान छ।

त्यसरी नाम पाएको २१ दिनभित्र सरकारले संसद सचिवालयलाई संविधानसभाको पहिलो बैठक बोलाउन आग्रह गर्नुपर्छ।

पछिल्लो म्याद थपले संविधानसभाको पहिलो बैठक कमसेकम मध्य माघसम्म धकेल्न सक्ने जानकारहरु बताउँछन्।