चीनको सामना गर्न जापानद्वारा सैन्य अभिवृद्धी

  • 17 डिसेम्बर 2013
Image caption जापानको रक्षा बजेटलाई एक दशकपछि गत जनवरी महिनामा पहिलो पटक बढाइएको थियो

जापानले एक नयाँ राष्ट्रिय सुरक्षा रणनीति सदर गर्नुको साथै रक्षा खर्च बढाएको छ।

सो देशको उक्त कदम चीनलाई लक्षित गरी लिइएको देखिएको छ।

आगामी पाँच वर्षमा जापानले मानवरहीत ‌विमान ड्रोन, अन्य देशले थाहा नपाउने गरी उडाउन सकिने स्टिल्थ विमान तथा पानी र जमिन दुवैमा चल्न सक्ने गाडीहरु किन्ने कार्यक्रम छ।

जापानी सेनाले टापुहरू आफ्नो नियन्त्रणमा लिनसक्ने एक विशेष बलको पनि स्थापना गर्ने बताइएको छ।

पूर्वी चिनियाँ सागरमा रहेका टापुहरूको स्वामित्वबारे बेइजिङ्सितको तनाव निकै बढेपछि टोक्योले ती कदमहरू चालेको देखिएको छ।

चीनले सीमा सम्बन्धि उसका दावीहरूलाई सशक्त बनाउन र रक्षा खर्च उल्लेख्य रूपमा बढाउन थालेपछि जापानको सैन्य नीतिमा परिवर्तनहरू ल्याउन खोजिएको छ।

'चिन्ताको विषय'

“चीनको अन्य देशहरूप्रतिको अडान र उसका सैन्य कदमहरू जापान तथा अन्तर्राष्ट्रिय समुदायकालागि चिन्ताको विषय बनेको छ,” जापानको राष्ट्रिय सुरक्षा सम्बन्धि नयाँ रणनीतिमा भनिएको छ।

“चीन आफ्नो सैन्य र राष्ट्रिय सुरक्षाको नीतिबारे अपारदर्शी भएकोले पनि त्यसलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट निगरानी गर्न आवश्यक छ।“

जापानको रक्षा बजेटलाई एक दशकसम्म कटौती गरिएपछि, गत जनवरी महिनामा पहिलो पटक बढाइएको थियो।

दुई वर्षअघि निर्वाचित भएका प्रधानमन्त्री शिन्जो आबेले जापानका सैन्य गतिविधिको दायरालाई बढाउन आह्वान गरेका छन्।

दोस्रो विश्व युद्धपछि सो देशको नयाँ संविधानले त्यस्तो विस्तार हुन दिएको छैन।

आगामी पाँच वर्षमा रक्षा खर्च २.६ प्रतिशत बढेर झण्डै साढे दुई खर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।

टोक्योस्थित बीबीसी संवाददाता रूपर्ट विङ्फिल्ड हेइज भन्छन्, “प्रधानमन्त्री पदमा नियुक्त हुँदा, शिन्जो आबेले आफू बेइजिङ्बाट नदबिने बताएका थिए, त्यसको एक वर्षपछि उनले नयाँ रक्षा रणनीति ल्याएका छन्।“

अहिलेसम्म जापानको सैन्य सुरक्षा संयुक्त राज्य अमेरिकाले सुनिश्चित गरिदिएको छ।

जापानी जल तथा स्थल क्षेत्रमा अमेरिकाले आणविक उर्जा प्रयोग गर्ने विमानवाहक पानी जहाज र ५०,००० सैन्य टुकडी तैनाथ गर्दै आएको छ।