लोडशेडिंग अब दैनिक ९ घन्टा

  • 17 डिसेम्बर 2013
जलविद्युत बांध
Image caption हिउँद सुरु भएसँगै नदीमा पानी कम हुंदा विद्युत उत्पादन कम हुन गई बर्षेनी लोडशेडिंग हुने गर्दछ।

विद्युत प्राधिकरणले मंगलबारबाट लागू हुने गरी लोडशेडिंगको समय दैनिक ६ घन्टाबाट बढाएर ९ घन्टा पुर्याएको छ।

पोहोर मध्य हिउँदसम्ममा लोडशेडिंग दैनिक १२ घन्टा पुगेको थियो।

प्रत्येक वर्ष विद्युतको माग बढ्ने तर त्यसको अनुपातमा उत्पादन र आपूर्ति हुन नसक्दा सुख्यायाममा लोडशेडिंग वर्षैपिच्छे बृद्धि हुने गरेको छ।

कोसिस

अघिल्लो वर्ष हिउँदमा दैनिक १२ घन्टा भएको लोडसेडिंगलाई यसवर्ष बढ्न नदिन पोहोरको आयातित १ सय ७० मेगावाटमा थप ५० मेगावाट विद्युत बढाउन प्राविधिक सुधारको कोसिस भइरहेको विद्युत प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले बताए।

उनले भने, "भारतबाट आउने एउटा लाईनमा हामी तार फेर्दै छौं, त्यो तार फेर्ने काम सकियो भने अर्को ५० वाट आयात गरेर हामी पोहोरकै जस्तो १२ घन्टाबाट लोडसेडिंग बढ्न नदिने हाम्रो लक्ष्य हो।"

देशभित्रै निर्माणाधीन जलविद्युत परियोजनाबाट तत्काल विद्युत थपिने सम्भावना नरहेकाले छिमेकी भारतबाट आयात गर्नुको विकल्प नरहेको उनले जानकारी दिए।

तालिका

उनले भने, "यहाँ सञ्चालित जलविद्युत परियोजनाबाट केही मेगावाट विद्युत बढे पनि त्यसले लोडशेडिंग घटाउन सक्ने क्षमता राख्दैन।"

यसअघि जस्तो बिहान र बेलुकामात्रै लामो समय लोडशेडिंग हुँदा उपभोक्तालाई अप्ठेरो परेको भन्दै प्राधिकरणले यसपटक कम उपयोग हुने दिउँसोको समयमा समेत लोडशेडिंग गरिने गरी तालिका तोकिएको जनाएको छ।