मोनसान्टो बीउको विरोध

  • 19 डिसेम्बर 2013
Image caption परम्परागत बीउका बदला बढी उत्पादन दिने भनिएका हाइब्रीड र जीएम बीउको प्रयोग विवादमा परेको छ

नेपालको एउटा ठूलो व्यापारिक समूह चौधरी ग्रुपले विश्वव्यापी रुपमा विवादित बहुराष्ट्रिय कम्पनी मोनसान्टोले उत्पादन गरेको मकैको बीउको बिक्री शुरु गरेपछि त्यसको चौतर्फी विरोध भैरहेको छ।

सरकारका सम्बन्धित अधिकारीहरु र बीउ नेपाल भित्र्याएको समूहले भने त्यसबाट कानुनको उल्लंघन नभएको बताएका छन्।

शुरुमा सामाजिक संजालमा मात्र सीमित विरोध अहिले किसान सम्म पुगिसकेको छ।

विरोध

नेपालकै ठूलो व्यापारिक समूह चौधरी ग्रुपसंग सम्बद्ध सीजी सीड्स एण्ड फर्टीलाइजर प्राइभेट लिमिटेडले बहुराष्ट्रिय कम्पनी मोन्सान्टोले उत्पादन गरेको मकैको बीउ बेच्नका लागि पत्रिकामा गरेको विज्ञापनबाट शुरु भएको विरोध दिन दुइगुणा, रात चौगुणा हुँदै सामाजिक संजालमा फैलिएको थियो जुन अहिले पनि जारी छ।

यसरी विरोधको स्वर चर्किदै जाँदा सी जी सीड्स ले भने मोन्सान्टो कम्पनीसंग कुनै पनि साझेदारी नभएको बताएको छ।

उसले मापदण्ड पुरा गरेर अघिल्लो बर्ष आयात गरेको बीउ केही मात्रामा बाँकी रहेकाले बेचविखनका लागि विज्ञापन गर्दा पनि यसलाइ ठूलो विषय बनाएर अनावश्यक विवाद गरिएको भनेको छ।

सीजी सीड्सका प्रवन्ध निर्देशक अभिनास पन्तले भने, "दुई वर्ष अघि नै हामीले ल्याएको हो। हाम्रो मोनसाण्टोसँग अब कुनै सम्बन्ध छैन। हामीले भण्डारमा रहेको पुरानो बीउ विक्री गर्न विज्ञापन गरिएको हो ।"

प्रयास

यसको विरोध गर्नेहरुले भने विश्वभरी नै विवादित रहेको मोन्सान्टो कम्पनीले जसरी भएपनि उसका बीउ नेपाल भित्राउन गरेको प्रयासको रुपमा यसलाइ हेरेका छन।

अभियानकर्ता मात्र होइन चितवन जिल्लाका केही किसान पनि मोन्सान्टो कम्पनीका बीउले उत्पादनमा कमी आएको भएको भन्दै विरोधमा उत्रिएका छन्।

सो कम्पनीले एकपटक नेपालमा पसेपछि कव्जा जमाउने र किसानहरुमा बीउको परनिर्भता बढाउने भएकाले यो कम्पनीलाई नेपाल प्रवेशमै निषेध गरिनुपर्ने उनीहरुको भनाइ छ।

लामो समय देखि यसको विरोधमा उत्रिएका एकजना अभियानकर्ता प्रशान्त खनालले भने, "यस्तो कुख्यात कम्पनीको बीउमा प्रतिबन्ध लगाइयोस् र बरु बीउ किन्न बाहिर गइरहेको करोडौं रुपैयाबाट नेपालमै अनुसन्धान गरियोस् र यहीँ बीउ उत्पादन गरियोस्।"

सरकारी तथ्याँक अनुसार नेपालमा तीस भन्दा बढी अन्तर्राष्ट्रिय कम्पनीका बीउबिजनहरुलाइ बेचविखनका लागि अनुमति दिइएको छ, जसमध्ये मोन्सान्टो कम्पनी पनि एक हो।

छवि

मकै र तरकारीका गरि सो कम्पनीका झण्डै दशवटा बीउहरु नेपालमा बेचविखन भइरहेको छ।

सरकारी अधिकारीहरुले मोन्सान्टो कम्पनीको छवि विश्वव्यापी रुपमा अलि नराम्रो भएकाले विरोध चर्कीएको भएपनि सरकारले बीउको परीक्षण गरी कुनै खराबी नदेखिए पछि बेचविखनलाइ अनुमति दिइएको बताएको छ।

बीउ गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख दिलाराम भण्डारीले भने, "परीक्षणका लागि निवेदन दिनुपर्छ। परीक्षणबाट उत्कृष्ट देखेपछि राजपत्रमा प्रकाशित भएपछि बिक्रि गर्न पाइन्छ। त्यसमा मोनसान्टोको मकैको बीउ पनि स्वीकृतिमा परेको छ।"

विवादित मोन्सान्टो कम्पनीले हाइव्रीड अर्थात एकै प्रजातिका बीउ लाइ क्रस गरी उत्पादन गरिएका बीउमात्र नभइ दुइवटा प्रजातिका बीउको क्रस गरी उत्पादन गरिएका बीउ जेनेटिकल्ली मोडिफाइड सीड्स अर्थात जीएम सीड पनि उत्पादन गर्ने भएकाले सो कम्पनीले यस्ता बीउ भित्राउन सक्ने शंका अभियानकर्ताहरुको छ।

संभावना

तर अधिकारीहरु भने नेपालको कानुन कडा रहेको र भारतमा जीएम सीड प्रतिबन्धित रहेकाले नेपालमा यस्ता बीउको प्रवेश हुने कुनै संभावना नरहेको बताउछन्।

एकातिर बीउमा किसानको परनिर्भरता बढ्ने र बहुराष्ट्रिय कम्पनीहरुले नेपाली बजारमा कव्जा जमाउँदै नेपाली किसानको पैसा विदेश लाने भएकाले सरकारले नै बीउ उत्पादनका कार्यमा अनुसन्धान बढाउदै जानुपर्ने अभियानकर्ताहरु बताउँछन्।

काठमाडौंस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, कुनै एक कम्पनीका बारेमा भन्दा पनि समग्र बीउविजनका उत्पादन र व्यवस्थापनमा सरकारी निकाय चनाखो नरहे भविष्यमा यस्ता विवाद झन बढ्दै जाने देखिन्छ।