'मासिक २० हजार लिटर पानी नि:शुल्क'

  • 31 डिसेम्बर 2013
अरबिन्द केजरीवाल
Image caption दिल्लीको विधानसभाको चुनावमा नि:शुल्क पानी दिने लगायतका प्रस्ताव आम आदमी पार्टीले आफ्नो घोषणा पत्रमा गरेको थियो

भारतमा राजधानी दिल्लीको सत्ताको बागडोर सम्हालेको ४८ घन्टा नबित्दै आम आदमी पार्टीले आफ्नो पहिलो चुनावी प्रतिज्ञा पुरा गरेको छ।

नयाँ निर्णय अनुसार अब दिल्लीमा आउने जनवरी १ देखि हरेक महिना प्रत्येक परिवारले करिव २० हजार लिटर पानी नि:शुल्क पाउने छन्।

भ्रष्टाचार विरोधी अभियानकर्ता एवं आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले दिल्लीको मुख्य मन्त्री पद सम्हालेर काम थाले लगत्तै दिल्लीमा सुधारको कदम चालिएको हो।

दिल्लीमा पानी वितरण गर्ने दिल्ली जल बोर्डका प्रमुख कार्यकारी अधिकृत विजय कुमारका अनुसार मुख्य मन्त्री केजरीवालको अध्यक्षतामा बसेको बोर्डको पछिल्लो वैठकले पानीको मिटर चालू अवस्थामा रहेका र प्रति महिना २० किलोलिटर अर्थात झन्डै २० हजार लिटर भन्दा कम पानी खपत गर्ने दिल्लीका सबै घरेलु उपभोक्ताहरुलाई आउने जनवरी एक देखि लागू हुने गरि निशुल्क पानीको सुविधा दिइनेछ।

सीमा

“दिल्ली जल बोर्डको वैठकको निर्णय अनुसार जनवरी २०१४ देखि यो सुविधा लागू हुनेछ।”

“पानी बचाउन यो कदम चालिएको हो, २० हजार लिटर भन्दा बढी पानी उपभोग गर्नेहरुले चांही पानीको पुरै महसुल तिर्नु पर्नेछ।”

उनका अनुसार पानीको महसुल नतिर्नेहरुलाई महसुल तिर्न दिएको म्याद बढाएर मार्च ३१ तारिख सम्म पुर्‍याइएको छ।

दिल्लीको विधानसभाको चुनावमा नि:शुल्क पानी दिने लगायतका प्रस्ताव आम आदमी पार्टीले आफ्नो घोषणा पत्रमा गरेको थियो।

मासिक २० हजार लिटर पानी नि:शुल्क पाउन एक घरले दैनिक साढे ६ सय लिटर पानी उपभोग गर्नु पर्नेछ।

तर कांग्रेसका प्रवक्ता एवं दिल्लीका पूर्व सांसद संदीप दिक्षितले नयाँ प्रस्तावप्रति प्रश्न गर्दै त्यो सफल हुनेमा आशंका व्यक्त गरेका छन्।