‘दक्षिण सुडानमा हिंसा, ज्यादती बढ्दै’

  • 22 डिसेम्बर 2013
दक्षिणी सुडानका लडाकू
Image caption तेल उत्पादन केन्द्रहरु रहेको युनीटी राज्य र जोङ्लेइ राज्य विद्रोहीको नियन्त्रणमा आइसकेको बताइएको छ

दक्षिण सुडानका भूतपूर्व उपराष्ट्रपतिले विद्रोहीहरुले त्याहाँको प्रमुख तेल उत्पादन गर्ने राज्य युनीटी र देशको अधिकांस भूभागलाई आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

गत साता राष्ट्रपति सल्भा किरले आफ्ना पूर्व सहयोगी रेइक मचारले सत्ता हत्याउने षडयन्त्र गरेको आरोप लगाएपछि दक्षिण सुडानमा हिंसा भड्कीएको हो।

दक्षिण सुडानको हिंसामा कम्तीमा ५०० जनाको ज्यान गइसकेको छ।

राजधानी जुबामा रहेकी एक जना पत्रकारका अनुसार उक्त मुलुकको युनिटी राज्यका तेल कम्पाउण्डहरुमा मानिसहरु मारिएको खबर उनलाई प्राप्त भएको छ।

‘क्रुर’

ढुंगाले टाउको थिचिएको, घांटी काटिएको जस्ता क्रुर घटनाहरु भएको उनले बताइन्।

हना मक्नेशले भनिन्, “अहिलेसम्म कोही विदेशीलाई आक्रमणको निशाना बनाइएको छैन, यो दक्षिणी सुडानी,दक्षिणी सुडानीबीचको हिंसा हो, तर यो अत्यन्तै भयानक छ।”

भूतपूर्व उपराष्ट्रपति रेइक मचारले बीबीसीलाई भने सरकार विरुद्ध उत्रिएका फौजहरु उनको आफ्नो नियन्त्रणमा आएका छन्।

उनका अनुसार विद्रोहीहरुले तेल उत्पादन केन्द्रहरु रहेको युनीटी राज्य र जोङ्लेइ राज्य विद्रोहीको नियन्त्रणमा आइसकेको छ।

मचारले सरकारी सेनाका एक कमान्डर जनरल जेम्स कोङ आफ्नो पक्षमा आएको बताए।

तर त्यस्को स्वतन्त्र रुपमा पुष्टी हुन बांकी छ।

सरकारी सेनाले राजधानी जुबालाई आफ्नो नियन्त्रणमा लिन संघर्ष गरिरहेको बताएको छ।

दक्षिण सुडानस्थित अमेरिकी नागरिकलाई उद्धार गर्न आएको विमानमा प‍ूर्वी जोङ्लेइ राज्यको बोरमामा गोली हानिएपछि चार अमेरिकी सैनिकहरु घाइते भएको बताइएको छ।

बीबीसीका जेम्स कोपनल भन्छन् अवस्था गृहयुद्धको जस्तो देखिन्छ।

‘संयम’

अमरिकी राष्ट्रपति बाराक ओबामले दक्षिण सुडानको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

इसाई धर्मका विश्व नेताहरुले पनि बहुसंख्यक जनता इसाई रहेको दक्षिण सुडानमा शान्ति र संयमको निम्ति आग्रह गरेका छन्।

बोरस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका एक प्रवक्ताले विगत २४ घन्टामा सुरक्षा खोज्दै बोर क्षेत्रमा वरपरबाट थुप्रै मानिसहरु आएको बताए।

दक्षिण सुडान सन् २०११मा स्वतन्त्र भएको थियो।

त्याहाँको अर्थतन्त्रमा ९५ प्रतिशत हिस्सा तेलले ओगटेको छ।