स्थायी संयन्त्र अमान्य: कांग्रेस-एमाले

  • 23 डिसेम्बर 2013
Image caption सोमबार सहमति हुन नसकेपछि मुख्य तीन दल मंगलबार फेरि बैठक बस्दैछन्

एकीकृत नेकपा माओवादीले अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने गरL स्थायी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन राखेको प्रस्ताव नेपाली कांग्रेस र नेकपा एमालेले अस्वीकार गरेका छन्।

संविधानसभामा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्डले आईतबार राखेका शर्तहरुबारे छलफल गर्न सोमबार तीन दलको बैठक बसेको थियो।

तर प्याकेजमा सहमति गर्ने भनिएको उक्त बैठक पनि विफल भएपछि संविधानसभालाई पूर्णता दिन कांग्रेस र एमाले एकीकृत माओवादीलाई नपर्खने निर्णयमा पुगेका छन्।

एकीकृत माओवादीले स्थायी प्रकृतिको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्न पाए चुनावबारे छानबीन गर्न आयोग गठन हुनुपर्ने आफ्नो अघिल्लो प्रस्तावमा लचिलो हुने संकेत दिएको बताइएको थियो।

तर उसले अघि सारेको नयाँ शर्त कांग्रेस र एमालेका निम्ति मान्य नभएपछि वार्ता निष्कर्षमा पुग्न सकेन।

जनादेश

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा निर्वाचनमार्फत व्यक्त जनादेश विपरित जान नसकिने उल्लेख गरे।

उनले भने, ''संसदलाई पाखा लगाएर जान हामीलाई पनि असजिलो हुन्छ।''

त्रिपक्षीय वार्ताअघि तीनवटै दलले छुट्टा-छुट्टै द्वीपक्षीय वार्ता गरेका थिए।

चेतावनी

कांग्रेस र एमालेका शीर्ष नेताहरुले आफ्ना मागहरु पुरा गर्न नसकिने बताएपछि एकीकृत माओवादीका नेताहरुले बुधवारसम्म रहेको म्यादभित्र पनि समानुपातिक सभासद्को नामावली निर्वाचन आयोगमा नबुझाउने चेतावनी दिएको बुझिएको छ।

तर कांग्रेस र एमालेले अब सूची बुझाउन एकीकृत माओवादीलाई नकुर्ने बताएका छन्।

एमाले महासचिव इश्वर पोखरेलले भने, ''हामी निर्वाचन आयोगले तोकेको समयसीमाभित्र समानुपातिक सभासद्को नामावली बुझाउँछौं।''

समानुपातिक सभासद्को सूची बुझाउने म्याद पुस १० गतेसम्म लम्ब्याइ दिन निर्वाचन आयोगलाई आग्रह गर्न जानेमा कांग्रेस र एमालेसँगै एकीकृत माओवादी पनि थियो।

तर विफल वार्ताहरुको श्रृंखला लम्बिदै जाँदा तेस्रो ठूलो दल एकीकृत माओवादीले लिएको अडान र कांग्रेस-एमालेको प्रतिकृया हेर्दा असन्तुष्ट एकीकृत माओवादीले संविधानसभाको पहिलो बैठकमा उपस्थिति जनाउला वा नजनाउला भन्ने आशँकाहरु भने छँदैछन्।