केही समयको लागि महानगरमा पार्किङ नि:शुल्क

  • 27 डिसेम्बर 2013
Image caption मनपरी पैसा उठाएको भन्दै महनगरपालिकाले केही समयको लागि पार्किङलाई नि:शुल्क बनाएको हो

काठमाण्डु महानगरपालिकाले शुक्रवारदेखि नि:शुल्क सवारी पार्किङको व्यवस्था लागू गर्ने भएको छ।

पाटन पुनरावेदन अदालतले अल्पकालीन नि:शुल्क सवारी पार्किङको योजना लागू नगराउन दिएको अन्तरिम आदेश विहिबार खारेज गरेपछि उक्त व्यवस्था लागू गर्न बाटो खुलेको हो।

तर नि:शुल्क गर्दा झन अव्यवस्थित हुने हो कि भन्ने कतिपयको आशंकालाई हटाउन महानगरपालिकाले नगर प्रहरी खटाएर पार्किङलाई व्यवस्थित गर्ने र निषेधित ठाउँमा पार्किङ गर्नेलाई एक हजार रुपैयाँ जरीवाना गर्ने बताएको छ।

प्रचार

पार्किङ शुल्क शुक्रवारदेखि नि:शुल्क भनिए पनि कहाँ कहाँ पार्किङ गर्ने भन्नेमा सर्वसाधारणहरु अन्योलमा पर्ने भएकोले यसबारे सुचनाहरु व्यापक रुपमा प्रचार प्रसार गर्ने काठमाडौं महानगरपालिकाका राजश्व महाशाखा प्रमुख महेश काफ्लेले बताए।

उनले भने, “सर्वसाधारणको लागि सञ्चार माध्यमहरुबाट प्रचार गर्छौं । यो यो ठाउँमा पार्किङ गर्न हुन्छ र यो यो ठाउँमा हुंदैन भनेर देखाउँछौ।”

कतिपय सडकमा पहिले पार्किङ गर्ने गरिएको स्थानलाई व्यवसायिक गृहहरुमा स्थानान्तरण गरीने उनले बताए।

“बाटामा रहेको सशुल्क पार्किङलाई चाहिं जसले पार्किङ सुविधा लिएर व्यापारिक मल र गृहहरु बनाउनु भएको छ, त्यहाँ लगेर व्यवस्थित गर्छौं। पार्किङलाई व्यवस्थित गर्न नगर प्रहरीहरु परिचालन गर्छौं। ट्राफिक प्रहरीले पनि सहयोग गर्नुहुन्छ” उनले भने।

अल्पकालिन

महानगरपालिका भित्र जहाँ पायो त्यहिं अनाधिकृत रुपमा केही व्यक्तिहरुले सर्वसाधारणसँग मनपरी पार्किङ शुल्क उठाईरहेको र त्यो राजश्वमा पनि नजाने भएकोले त्यस्तो परिपाटीको अन्त्य गर्न केही समयको लागि मात्रै यस्तो व्यवस्था गरेको महानगरपालिकाले जनाएको छ।

झण्डै एक दशकदेखि मनपरी शुल्क उठाइएकोले त्यसलाई नियन्त्रण गर्न गत फागुनमा महानगरपालिकाले सशुल्क पार्किङलाई व्यवस्थित गर्न भन्दै टेन्डर आव्हान गरेको थियो। तर अदालतमा मुद्दा परेपछि उक्त टेन्डर प्रक्रिया रोकिएको थियो।

पुन: अनाधिकृत रुपमा पार्किङ शुल्क उठाउने कार्य जारी रहेको भन्दै पुष १ गतेदेखि लागू हुने गरी अल्पकालिन नि:शुल्क पार्किङ योजना महानगरपालिकाले ल्याएको थियो तर यस विरुद्ध पनि मुद्दा परेपछि यो योजना पनि रोकिएको थियो।

पुनरावेदन अदालतको विहीबारको फैसलाले योजना कार्यान्वयन गर्न बाटो खुलेपछि नि:शुल्क पार्किङ सुरु भएको हो।