बेरुत बिस्फोटमा भुतपूर्व मन्त्रीको मृत्यु

  • 27 डिसेम्बर 2013
Image caption प्रत्यक्षदर्शीहरुको भनाइमा बिस्फोट स्थलमा त्रास र स्तब्धता छाएको थियो

लेवननका भुतपूर्व अर्थ मन्त्री मोहमद चताहको बेरुतको मध्य भागमा ठूलो बम बिस्फोट गराएर हत्या गरिएको छ।

उनी भुतपूर्व सुन्नी मुसलमान प्रधानमन्त्री साद हरीरीका सल्लाहकार थिए।

सरकारी कार्यालयहरु र संसद नजिकै भएको कार बम हमलामा अन्य चार जना मारिनुका साथै कम्तीमा ५० जना घाइते भएका छन्।

सिरीयाको युद्धले लेवननमा शिया र सुन्नी बीचको तनावलाई चर्काइ दिएको छ।

लेवननको शिया हेजबोल्लाह आन्दोलनले सिरीयाका राष्ट्रपति बासर अल असदलाई सघाइ राखेको छ।

बेरुटमा भएको यो बिस्फोटबाट केही भवनहरुमा क्षति पुग्नुका साथै केही सवारीहरुमा आगो लागेको थियो।

संसदमा रहेका आफ्ना बिपक्षी सुन्नीहरुसितको एउटा बैठकमा भाग लिन गइ रहँदा चताहको गाडीलाई निशाना बनाइएको बताइन्छ।

केही सिरीयाली बिद्रोही समुहहरु सुन्नी मुसलमान अल काइदा नेटवर्कसित सम्बद्ध छन्।

गत महिना हजबोल्लाहलाई समर्थन गर्ने इरानको बेरुतस्थित दुतावासमाथि हमला भएको थियो।

चताह राष्ट्रपति असाद र हेजबुल्लाहका कडा आलोचक थिए।

आतंक र त्रास

चताह सन् २००८ मा अर्थ मन्त्री बनेका थिए।

सन् २०११ को शुरुमा साद हरीरीले प्रधानमन्त्रीमा हारे पछि चताह उनका बरिष्ठ सल्लाहकार बनेका थिए।

बिस्फोट स्थलमा त्रास र स्तब्धता छाएको कुरा प्रत्यक्षदर्शीहरुले बताएका छन्।

नजिकै रहेको औषधी पसलका मालिकको भनाईमा शुरुमा शिशाहरु फुटेको आवाज आयो र पछि बिस्फोटको आवाज सुनियो।

रोयटर्स समाचार एजेन्सीले उद्धृत गरेको एक प्रत्यक्षदर्शीको भनाइमा बिस्फोटको कारण बिहान काममा गइ रहेका मानिसहरुको सवारीमा आगो लागेको थियो र स्थानीय मानिसहरु माझ त्रास र आतंक फैलिएको थियो।