सभासद छान्न कांग्रेस एमाओवादीलाई अझै सकस

  • 28 डिसेम्बर 2013
Image caption समानुपातिक सभासदको अन्तिम सूचि दलहरुले सोमबारसम्म बुझाउनुपर्नेछ

समानुपातिक सभासद सूचि निर्वाचन आयोगलाई बुझाउने म्याद दुई दिन मात्रै बाकिँ रहेको बेला नेपाली कांग्रेस र एकिकृत माओवादी सभासदको मापदण्डका विषयमा प्रारम्भिक चरणमै छलफल गरिरहेका छन्।

तीन ठूला दल मध्ये संविधानसभामा दोस्रो भएको नेकपा एमालेले भने तीन दिने आवासीय बैठक बसी ८४ सभासद चयन गरेर सूचि शनिवार दिउँसो निर्वाचन आयोगलाई बुझाएको छ।

तीन दिन एउटा रिसोर्टमा आवासीय बैठक बसेर अन्तत: नेकपा एमालेको स्थायी कमिटी बैठकले आफ्नो भागमा परेको ८४ जना सभासद्को नाम आयोगलाई बुझाएको हो।

असन्तुष्टि

सूचि सार्वजनिक हुने बित्तिकै पार्टीको छनौटलाई लिएर उसको जिल्ला कमिटीहरु र चर्चित नेताहरुले चर्को असन्तुष्टि जाहेर गरेका खबर आएका छन्।

थुप्रै योग्यहरुलाई नै समेट्न नसकेको एमाले नेता विष्णु पौडेलले बताए।

उनले भने, "हामीले कार्यकर्ताको वर्ग, क्षेत्र, समुदाय र त्यहाँ पुर्याएको योगदानलाई विचार गरेर सूचि तयार पारेका छौं तर धेरै योग्य व्यक्तिहरुलाई नै सूचीमा राख्न सकेका छैनौं।"

सबैभन्दा ठूलो पार्टी भएर ९१ सभासद चयन गर्नुपर्ने नेपाली कांग्रेसले भने सभासदको मापदण्डकै विषयमा छलफल गर्न पूर्ववत निर्णय अनुसार संसदीय बोर्डको बैठक शनिवार रातीसम्म जारी राखेको थियो।

छलफल

संसदीय बोर्डले प्रारम्भिक रुपमा चारवटा प्रमुख आधारमा सभासद छान्ने निर्णय गरेको कंग्रेस सभापति रामचन्द्र पौडेलले बताएका छन्।

उनले भने, "हामीले पार्टीमा पुर्याएको योगदान, पार्टीको सिद्धान्त र नीति प्रस्तुत गर्ने क्षमता, समूहगत प्रतिनिधित्व गर्दा क्षेत्रीय सन्तुलन र पार्टीमा क्रियाशिलतालाई आधार मानेर भोलिसम्म सूची तयार गर्छौं।"

एकिकृत माओवादीले उम्मेद्वारको मापदण्डमा प्रारम्भिक निर्णय भएपनि आईतबार दिउँसो एक बजे बस्ने केन्द्रीय समितिले छलफल गरेर ५४ जना सभासद्को नाम तय गर्ने बताएको छ।

सकेसम्म प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका जिल्लालाई समानुपातिकमा समावेश गर्ने निर्णय भएको नेता देवेन्द्र पौडेलले बताए।

"प्रत्यक्षले समेट्न नसकेका जिल्लालाई समानुपातिकमा पुर्याउने गरी छलफल भईरहेको छ भोलि केन्द्रीय सदस्यले टुंगो लगाउँछ।"

समानुपातिकतर्फ ३० दलले सभासद सुचि बुझाउनुपर्नेमा अहिलेसम्म नेकपा एमाले, राप्रपा नेपाल, नेपाल परिवार दललगायत १५ वटा पार्टीले मात्रै सभासद सुचि बुझाएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले बताए।