सभासद छनौटका लागि एमाओवादीको पाँच बुँदे मापदण्ड

  • 28 डिसेम्बर 2013
Image caption नेपाली कांग्रेसमा नेताहरु बीच आफ्नो गुटको नाम छान्ने किचलोले सूची बन्न नसकेको बताइएको छ

चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगमा समानुपातिकको सूची नबुझाउने अड्डि लिएको एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका सभासद छनौटको लागि शुक्रवार पाँच बुँदे मापदण्ड तयार गरेको छ।

चुनावमा दोस्रो स्थान पाएको नेकपा एमालेले सूची तयारै गरिसकेको खबरहरु आइरहेका बेला एकीकृत माओवादीले सभासद छान्ने आधारहरुको टुङ्गो लगाएको हो।

मौका

मापदण्डको आधारमा सल्लाह सुझाव लिएर आफुले नाम छनोट गर्ने र आइतबार बस्ने केन्द्रिय समितिको वैठकले त्यसलाई पारित गर्ने उक्त पार्टीका नेता पोष्टबहादुर बोगटीले बताए।

मापदण्डबारे उनले भने, “पहिलो, पूर्व सभासदहरुको साटो नयाँलाई मौका दिने। दोस्रो, हामी निर्वाचित नभएको जिल्लाबाट सभासद छनौट गर्ने। तेस्रो, शहिद परिवार, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई समेट्ने कुरा भयो। चौथो, पार्टीको काममा निरन्तरता र क्षमताको कुरा पनि हेर्नु पर्‍यो र पाँचौ चाहीं चुनावमा असहयोग गरेका र निष्क्रिय भएकालाई प्रश्रय नदिने भन्ने हो।”

पार्टीभित्र प्रचण्ड र बाबुराम भट्टराई लगायतका नेताहरुले आ-आफ्नो गुटका हरुलाई समानुपातिकको सूचीमा चढाउन कसरत गरिरहेको भन्ने खबरहरुका माझ यस्तो मापदण्ड तयार भएको हो।

सजिलो

यसले व्यक्तिलाई तानातान गरेर राख्ने प्रवृत्तिलाई घटाउने बोगटीले दावी गरे।

“गुट उपगुटतिर नजाउँ। मापदण्ड भएन भने व्यक्तिहरुलाई तानातान गर्ने कुरा हुन्छ। एउटा आधार बनाइदियो भने त्यही अनुसार छनौट गर्न सजिलो हुन्छ भनेर मापदण्ड बनाइएको हो,” बोगटीले भने।

एकीकृत माओवादीले समानुपातिक प्रणालीमा प्राप्त गरेको ५४ सिटको लागि मापदण्ड तयार गर्दै गर्दा नेकपा एमालेले भने प्रस्तावित सभासदहरुको सूची तयार गरिसकेको खबरहरु आएका छन्।

उसले आईतबार निर्वाचन आयोगमा उक्त सूची बुझाउने बताइएको छ।

पहिलो स्थानमा रहेको नेपाली कांग्रेसभित्रचाहीं सूचीलाई अन्तिम रुप दिने काम किचलोका माझ अघि बढिरहेको बताइएको छ।

सूची बुझाउने अन्तिम म्याद सोमबारलाई तोकिएको छ।