हजारौं विद्रोही युवा रणनीतिक ‘शहरतर्फ’

  • 29 डिसेम्बर 2013
riek machar
Image caption यी पूर्व उपराष्ट्रपति रियक मचारले युद्धविरामअघि वार्ता हुनुपर्ने बताएका छन्

हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय आव्हानका बाबजुद दक्षिण सुडानमा द्धन्द्ध थप चर्कने संकेतहरु देखिएका छन्।

विद्रोही नेता रियक मचारको समर्थन गर्ने हजारौं युवा रणनीतिक रुपमा महत्वपूर्ण ठानिएको बोर शहरतर्फ अघि बढिरहेको बताइएको छ।

नियन्त्रण

बोर शहर अहिले सरकारी सेनाको नियन्त्रणमा छ। जोंगली राज्यको उक्त राजधानी शहर सरकारी सेनाले केही अघि विद्रोहीको कब्जाबाट खोसेको थियो।

अब त्यसमाथि पुन: नियन्त्रण जमाउने प्रयासमा विद्रोहीहरु रहेको जस्तो देखिएको सरकारी सूत्रहरुले बताएका छन्।

त्यसै योजना अनुसार विद्रोही नेता रियक मचारप्रति बफादार हजारौं युवा बोरतर्फ अघि बढिरहेको ती सूत्रहरुको भनाइ छ।

तथापि विद्रोहीका एक जना प्रवक्ताले ती युवा अघि बढिरहेकोबारे अस्वीकार नगरेपनि उनीहरुलाई मचारले परिचालन गरेको भन्ने खबरहरु भने स्वीकार गरेनन्।

हिंसा

Image caption हिंसाका कारण १ लाख २१ हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन्

यो महिनाको शुरुवातदेखि दक्षिण सुडानमा भड्किएको साम्प्रदायिक हिंसामा कम्तीमा १ हजार जना मानिसको ज्यान गइसकेको छ।

साथै १ लाख २१ हजारभन्दा बढीले आफ्नो घर छाडेको अनुमान गरिएको छ।

राष्ट्रपति साल्भा किर र विद्रोही नेता एवम् किरका पूर्व उपराष्ट्रपति मचारबीच शक्ति संघर्षबाट शुरु भएको साम्प्रदायिक हिंसा स्रोत धनी क्षेत्रहरुमा फैलिएको छ।

तेल धनी युनिटी राज्यमा संघर्ष अझै जारी रहेको छ भने मालाकाल शहर आफ्नो नियन्त्रणमा आइसकेको सरकारी सेनाले बताएको छ।