समानुपातिकको सूची बुझाउने अन्तिम दिन

  • 30 डिसेम्बर 2013
Image caption समानुपातिक तर्फका सभासदको सूची बुझाउन निर्वाचन आयोगले तेस्रो पटक थपेको म्याद सोमबार सकिदैछ

समानुपातिक तर्फको सभासदको सूची निर्वाचन आयोगमा बुझाउने अन्तिम म्यादभित्रै काम फत्ते गर्न मुख्य दल नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी लगायतका दलहरु विहानै देखि व्यस्त छन्।

नेपाली कांग्रेसको संसदिय वोर्डले समानुपातिक तर्फका सम्भावित सभासदको सूची तयार गरिसकेको र सोमबार एघार बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकले त्यसमा छलफल गरी पारित गरेर निर्वाचन आयोगमा बुझाउने उक्त पार्टीका एक नेताले बताएका छन्।

त्यस्तै एकीकृत माओवादीको केन्द्रीय समितिले सूचीलाई अन्तिम रुप दिन मुख्य नेताहरुलाई अह्राएको छ।

अतिरीक्त प्रचार

समानुपातिक तर्फ ९१ सिट हासिल गरेको नेपाली कांग्रेसले आइतबार अबेर राती समानुपातिकको सूची तयार गरेको उक्त पार्टीका नेता नरहरि आचार्यले बताए।

उनले भने, “संसदिय बोर्डले हिजो (आइतबार) बेलुकी सूची बनाइसकेको भन्ने मलाई जानकारी छ। आज एघार बजे बस्ने केन्द्रिय कार्य समितिको बैठकमा त्यो प्रस्तुत हुन्छ र बैठकले पारित गरेपछि निर्वाचन आयोगमा जान्छ।”

नेपाली कांग्रेसमा सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाबीच सभासद बाँडफाँडको विषयले विवाद चुलिएपछि समानुपातिकको सूची तयार हुन ढिलाई भएको खवरहरु आएका थिए।

सामान्य रुपमा यस्तो भए पनि हल्ला बढी भएको नेता आचार्यले बताए।

“त्यो सामान्य राजनीतिक प्रसंग मात्रै हो। जुनसुकै ठाउँमा पनि यो छान्ने उ छान्ने भन्ने भइहाल्छ। बाहिर अतिरीक्त प्रचार भएको मात्रै हो” नेता आचार्यले भने।

दबाब

सोमबार दलहरुले निर्वाचन आयोगमा आफ्ना दलबाट सभासद हुनको लागि सूची बुझाउने अन्तिम दिन भएकोले पनि नामावली तयार गर्न दलहरुमा दबाब परेको छ।

संविधानसभामा प्रतिनिधित्व गर्ने ३० वटा मध्ये आइतबार सम्ममा १६ वटा दलले समानुपातिकको सूची बुझाई सकेका छन्।

दोस्रो ठूलो दल नेकपा एमाले र चौथो, राप्रपा नेपालले तीव्र आन्तरिक विवादका माझ सूची बुझाइसकेका छन्।

दलहरुले बुझाएको सूचीमा महिला, दलित, जनजाति लागायतको प्रतिनिधित्व उचित रुपमा भएको छ वा छैन भन्ने निर्वाचन आयोगले अध्ययन गर्नेछ र नामहरु सच्याउन परे पुन दलहरुलाई अग्रह गर्नेछ।