भोल्गोग्राद शहरमा दोश्रो बम हमला

  • 30 डिसेम्बर 2013
विष्फोट स्थल
Image caption भोल्गोग्राद शहरमा चौबीस घन्टा भित्रै दोश्रो बम हमला गरिएको हो।

रुसको भोल्गोग्राद शहरमा चौबीस घन्टा भन्दा कम समयभित्रै दोश्रो आत्मघाती बम हमला गरिएको छ।

बिहानको व्यस्त समयमा एउटा ट्रली बसमा गराइएको उक्त विष्फोटनमा परी कम्तीमा चौधजनाको ज्यान गएको छ।

प्रत्यक्षदर्शीहरुले मानिसहरुका शव यताउता छरिएका र बस करीब करीब पुरै क्षतिग्रस्त भएको बताए।

हमला

सत्र जनाको ज्यान जाने गरी आइतबार एउटा रेलवे स्टेशनमा गरिएको बम हमलापछि पछिल्लो हमला गरिएका हुन्।

ती दुबै हमलाले आउँदो फेब्रुअरी महिनामा रुसको सोची शहरमा आयोजना हुन लागेको हिउँदे ओलम्पिकमा सुरक्षा संबन्धी चिन्ताहरुलाई बढाइ दिएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले भोल्गोग्राद सहित देशभरि नै सुरक्षा व्यवस्था थप कडा पार्न आदेश दिएका छन्।

यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिकी एकजना प्रवक्ताले रुसले हिउँदे ओलम्पिक खेलका लागि पर्याप्त सुरक्षा उपलब्ध गराउने बारे आफुहरुलाई कुनै शंका नभएको जनाएकी छिन्।

यसअघि दक्षिणी रुसी शहर भोल्गोग्रादको केन्द्रिय रेलवे स्टेशनमा एकजना आत्मघाती बम हमलाकारीले बम विष्फोट गराएपछि रुस सरकारले विमानस्थल तथा रेलवे स्टेशनहरुमा सुरक्षाव्यवस्था कडा तुल्याउन आदेश दिएको थियो।

नयाँ वर्षको छुट्टी अघि यात्रुहरुको भीडभाड रहेका बेला उक्त हमला गरिएको थियो।

यी दुबै हमलाको कसैले जिम्मा लिएको छैन।

चिन्ता

रुसी अधिकारीहरु आउँदो जाडो याममा सोची शहरमा आयोजना गरिन लागेको ओलम्पिक खेल अघि उग्रवादी समूहहरुले हिंसा बढाउने योजना बनाएको हुनसक्ने भनि चिन्तित छन्।

गएको जुलाई महिनामा एकजना चेचेन विद्रोही नेता डोकु उमारोभले इन्टरनेटमा प्रकाशित एउटा भिडियोमा उग्रवादीहरुलाई उक्त खेल रोक्न अत्यधिक शक्ति प्रयोग गर्न आह्वान गरेका थिए।

गत शुक्रबार रुसको प्यातिगोर्स्क शहरमा गराईएको एक कार बम हमलामा तीनजनाको ज्यान गएको थियो।

त्यस्तै गत अक्टोबर महिनामा अशान्त छिमेकी दागेस्तान प्रान्तमा एकजना महिला आत्मघाती बम हमलाकारीले एउटा बसमा गरेको हमलामा छ जनाको ज्यान गएको थियो।