'दक्षिण सुडानमा हजारौं बालबालिका एक्लै'

  • 30 डिसेम्बर 2013
दक्षिण सुडानका बालबालिका
Image caption दक्षिण सुडानको दुर्गम भेगमा बालबालिकाको खराब अवस्थाबारे चिन्ता व्यक्त भैरहेको छ

दक्षिण सुडानमा पछिल्लो हिसाका कारण हजारौं बालबालिका तिनका आमाबुबाबाट छुट्टिएका हुनसक्ने एउटा अन्तर्राष्ट्रिय परोपकारी संस्था सेभ द चिल्ड्रेनले जनाएको छ।

लडाईं शुरु भएपछि एकलाख भन्दा बढी मानिसहरु घरछोडी भाग्न बाध्य हुनु परेको छ र यसक्रममा थुप्रै परिवारहरु टुक्रिएका छन्।

सेभ द चिल्ड्रेनका अनुसार धेरै मानिसहरुले राष्ट्रसंघीय कार्यालय परिसर र सुरक्षित स्थानमा रहेका अन्य समुदाय कहां शरण लिइरहेका भएपनि दुर्गम भेगमा बालबालिका र अरु मानिसहरु विना कुनै आश्रय लुकेर बसीरहेका छन्।

दुर्गम क्षेत्र

सेभ द चिल्ड्रेनका अनुसार दुर्गम क्षेत्रमा थुप्रै बालबालिकाहरु आफ्नो हेरविचार आफैले गर्नु पर्ने स्थितीमा छन्।

तिनीहरु मध्ये धेरैले आफ्नो आमाबाबु मारिएका र घरहरु लुटिएका देख्‍नु परेको छ।

दुई हप्ताअघि राजधानी जुबाबाट शुरु भएको लडाईं अब देशमा अन्य थुप्रै भागमा पनि फैलिएको छ।

सेभ द चिल्ड्रेनले भनेको छ एकलाख बीसहजार भन्दा बढी मानिसहरु आफ्नो घर छाडी भाग्दा थुप्रै परिवारहरु छुट्टिएका छन्।

दुर्गम भेगमा बालबालिका लगायतका अन्य मानिसहरु पनि धाप भएको क्षेत्रमा लुकेर बसिरहेका छन्।

दुषित पानी

Image caption दक्षिण सुडानमा झण्डै एकलाख बीस हजार मानिसहरु शरणार्थी बन्नु परेको बताइएको छ

तिनीहरुसंग ओत लाग्ने ठाउं पनि छैन र जमेको दुषित पानी पीएर बांच्न तिनीहरु बाध्य भएको उक्त परोपकारी संस्थाले जनाएको छ।

विद्रोही नेता रिएक मासार र राष्ट्रपति साल्भा किइरबीच शक्ति संघर्षको रुपमा शुरु भएको हिंसाले अब साम्प्रदायिक स्वरुप लिएको जस्तो देखिएकोछ।

सरकारले युद्ध विरामको प्रस्ताव गरेको छ तर सेनाले आफ्ना सैनिकहरुले उत्तरमा अवस्थित तेल खानीहरुका लागि विद्रोहीहरुसंग लडाईं गरिरहेको जनाएको छ।

पूर्व अफ्रीकी मध्यस्थकर्ताहरुले दुवै पक्षलाई हिंसा रोक्ने सहमति जनाउन मंगलबारसम्मको समय दिएका छन्।

द्वन्द्वरत पक्षबीच बार्ताका लागि तोकिएको क्षेत्रिय समयसिमा नजीकिंदै गर्दा दुवैपक्षले आआफ्ना अडानलाई कडा तुल्याउंदै लगेका देखिएको छ।

दशकौंको द्वन्द्वपछि दक्षिण सुडानले सन २०११ मा मात्र स्वतन्त्रता हासिल गरेको थियो।