दक्षिण सुडानका विद्रोही नेता वार्तकालागि ‘सहमत’

  • 31 डिसेम्बर 2013
Image caption राष्ट्रपति कियरले मचारसित कुनै सत्तासाझेदारी नगर्ने बताएका थिए

दक्षिण सुडानका विद्रोही नेता रिएक मचारले उनको सैन्यबलले प्रमुख शहर बोर कब्जामा लिएको दावी गर्दै आफू शान्तिवार्तामा जाने बीबीसीलाई बताएका छन्।

उनले यसअघि वार्ताकालागि राखेका शर्तमा आफूसंग मिलेर सत्तापलटको आरोप लागेका ११ जनाको रिहा थियो।

तर उनले राष्ट्रपति सल्भा कियरले भने जस्तो सत्तापलटको प्रयास नभएको बताएका छन्।

युगान्डाका राष्ट्रपतिले विद्रोहीहरूले मंगलबारसम्म युद्धविरामको घोषणा गरेर शान्तिवार्ता नथाले उनीहरू विरूद्ध सैन्य कारवाही गरिने धम्की दिएका छन्।

'सत्तासाझेदारी नगर्ने'

सोमबार बीबीसीसितको अन्तरवार्तामा राष्ट्रपति कियरले मचारसित कुनै सत्तासाझेदारी नगर्ने बताएका थिए।

दक्षिण सुडानमा गत दुई हप्तामा चर्केको हिंसामा कम्तिमा १,००० जनाको ज्यान गइसकेको छ।

कियरले सो अन्तरवार्तामा भनेका थिए, “यी मानिसहरूले विद्रोह गरेका छन्। तपाईलाई सत्ताशक्ति चाहिएको छ भने, तपाईंले विद्रोह गर्ने होइन, प्रक्रियाको पालना गर्ने हो।“

उनले मचारका राजनीतिक सहयोगीहरूलाई रिहा गर्न अस्वीकार गर्दै आएका छन्।

बोर शहर मचारको सैन्यबलको नियन्त्रणमा गएको समाचारको पुष्टी हुनसकेको छैन।

उनको सैन्यबलमा उनीप्रति वफादार सुडानको सेनाबाट विद्रोह गरी निस्केका सैनिकहरू र युद्धको संकेत स्वरूप शरिरमा सेतो खरानी दल्ने एक जनजातीय मिलिसिया छन्।

राष्ट्रसंघका एक प्रवक्ताले बिहान झिस्मिसेमा बोर शहरमा आक्रमण भएको र सो ठाउँ राष्ट्रसंघीय परिसरबाट टाढा नरहेको बताए।

दक्षिण सुडानको सेनका एक प्रवक्ताले त्यहाँ ठूलो लडाईं भएको पुष्टी गरेका छन्।