राष्ट्रपति पुटिन भोल्गोग्रादमा

  • 1 जनवरी 2014
घाइतेहरुलाई भेटदै राष्ट्रपति पुटिन
Image caption राष्ट्रपति पुटिनले कुनै पनि निहुँमा बम हमलाको बचाउ गर्न नसकिने बताए

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वटा आत्मघाती बम हमलामा चौंतीस जना मारिएको भोल्गोग्राद शहरको भ्रमण गरेका छन्।

उनले गत सोमबार एउटा ट्रली बसमा विष्फोट गराइएको ठाउँमा गुलाफका फूलहरु चढाउनुकासाथै घाइतेहरुलाई अस्पताल गएर भेटेका थिए।

गृह मन्त्रालय तथा सँघीय सुरक्षा सेवाका अधिकारीहरु सहभागी एउटा बैठकलाई संबोधन गर्दै उनले भने, “यहाँ भोल्गोग्रादमा गरिएका अपराधहरुको नीचताकाबारेमा थप टिप्पणी गर्न आवश्यक छैन। अपराधीहरुको उद्देश्य जेसुकै भएपनि महिला तथा केटाकेटी लगायत सर्वसाधारण विरुद्ध गरिएको अपराध क्षम्य हुनसक्दैन।”

भोल्गोग्राद शहरमा अहिले सुरक्षा व्यवस्था कडा तुल्याईएको छ र हजारौं प्रहरीहरु तैनाथ गरिएको छ।

नयाँ वर्षको छुट्टी अघि यात्रुहरुको भीडभाड रहेका बेला ती हमलाहरु गरिएका थिए।

ती हमलाहरुपछि रुस सरकारले देशभरि नै विमानस्थल तथा रेलवे स्टेशनहरुमा सुरक्षाव्यवस्था कडा तुल्याउन आदेश दिएको थियो।

भोल्गोग्राद शहर राजधानी मस्कोभन्दा झण्डै नौ सय किलोमिटर दक्षिणमा पर्दछ।

हमला

कुनै पनि समूहले ती हमलाहरुको जिम्मा लिएको छैन।

तर ती यसअघि उत्तरी ककेसस क्षेत्रमा सकृय इस्लामवादी उग्रवादीहरुले गर्ने गरेका जथाभावी हमलासँग मिल्दाजुल्दा छन्।

झण्डै दश लाख मानिसहरु बसोबास गर्ने भोल्गोग्राद शहरलाई दोश्रो विश्व युद्ध ताका स्टालिनग्राद पनि भनिन्थ्यो।

त्यहाँ रुसी राष्ट्रवादी भावना सजीलै देख्‍न सकिन्छ।

अनुसन्धानकर्ताहरुले ट्रलीबसमा गराईएको आत्मघाती हमला एकजना पुरुषले गराएको ठान्दछन्।

त्यसको ठिक एकदिन अघि भोल्गोग्रादकै केन्द्रिय रेलवे स्टेशनमा गराईएको हमलामा अर्को पुरुष संलग्न रहेका ठानिएको छ।

रुसी छानबिन सम‌ितिका एकजना प्रवक्ता भ्लादिमिर मार्किनले ती दुबै हमलामा प्रयोग गरिएका बममा एकैखालका धारिला पदार्थहरु फेला परेको बताए।

ओलम्पिक

ती बम हमलाले आउँदो फेब्रुअरी महिनामा रुसको सोची शहरमा आयोजना गरिन लागेको हिउँदे ओलम्पिक खेलअघि थप हमलाहरु गरिनसक्ने चिन्ता बढाइदिएको थियो।

तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिकी एकजना प्रवक्ताले रुसले हिउँदे ओलम्पिक खेलका लागि पर्याप्त सुरक्षा उपलब्ध गराउने बारे आफुहरुलाई कुनै शंका नभएको जनाएकी थिइन्।

विश्लेषकहरु ती दुबै हमला संभवत: हाल लुकिरहेका चेचन्याका एकजना उग्रवादी इस्लामवादी नेता डोकु उमारोभले गराएको हुनसक्ने ठान्दछन्।

गएको जुलाई महिनामा उमारोभले इन्टरनेटमा प्रकाशित एउटा भिडियोमा उग्रवादीहरुलाई उक्त खेल रोक्न अत्यधिक शक्ति प्रयोग गर्न आह्वान गरेका थिए।

गत अक्टोबर महिनामा अशान्त छिमेकी दागेस्तान प्रान्तमा एकजना महिला आत्मघाती बम हमलाकारीले एउटा बसमा गरेको हमलामा छ जनाको ज्यान गएको थियो।