एकीकृत माओवादीमा फरक मत

  • 1 जनवरी 2014
Image caption समानुपातिक सभासद सूचीले एकीकृत माओवादी भित्रको विवादलाई फेरि सतहमा ल्याएको छ।

समानुपातिक सभासद चयनप्रति असन्तुष्टि व्यक्त गर्दै एकीकृत माओवादीका वरिष्ठ नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले असहमति दर्ता गराएका छन्।

उनीहरुले पार्टीले तोकेको मापदण्ड अनुसार सभासद् चयन नभएको बताए।

तर पार्टी प्रवक्ता अग्नि सापकोटाले सूचीमा हेरफेर गर्ने कुनै योजना नरहेको जनाए।

असहमति

वरिष्ठ नेता बाबुराम भट्टराई निकट मानिने एक जना नेताले भने असहमतिप्रति पार्टी अध्यक्षको प्रतिक्रियापछि आगामी कदमबारे निर्णय लिइने बताए।

नेता टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डले तयार पारेको सूची पार्टीको मापदण्डअनुरुप नभएकाले बुधबार असहमति दर्ता गराइएको बताए।

५ बुँदे असहमतिबारे उनले भने, "जनआन्दोलनका घाईते, बेपत्ता र शहीद परिवारलाई दिने भनिए पनि त्यसो गरिएन। निर्वाचित नभएका जिल्लालाई नसमेटिएकाले करीब २० जिल्ला छुटेका छन्।"

समानुपातिक सभासद चयनलाई लिएर पार्टीभित्र देखिएको तीव्र विवाद सुल्झाउन एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले वरिष्ठ नेताहरु भट्टराई र श्रेष्ठसँग छलफल अघि बढाएका छन्।

पुनर्विचार

प्रचण्डले छलफल थाले पनि निर्वाचन आयोगमा पार्टीका तर्फबाट बुझाइएको समानुपातिक सभासदको सूचीबारे पुनर्विचार गर्न नसकिने सो पार्टीका प्रवक्ता सापकोटाले बताए।

उनले भने, "अन्तिम सूची गइसकेकोले त्यसमा पुनर्विचार हुँदैन किनभने प्रक्रियामा उहाँहरु नै सामेल हुनुभएन।"

सापकोटाले सभासद चयनका लागि ब‍ोलाइएको बैठकमा अनुपस्थित भएर वरिष्ठ नेताहरु भट्टराई र श्रेष्ठले नै समस्या सृजना गरेको आरोप पनि लगाए।

तर रायमाझीले भने अध्यक्षले सूची तयार पारिसकेकाले बैठकमा गएर साक्षी किनारा बस्न नचाहेको बताए।

उनले वरिष्ठ नेताहरुले दर्ज गराएको असहमतिप्रति पार्टी अध्यक्षको प्रतिक्रिया हेरी भावी रणनीति तयार पारिने पनि जनाए।

पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहलाई चयन गरिएको विरोधमा एकीकृत माओवादीका कार्यकर्ताले मँगलबार पार्टीको धादिङ जिल्ला कार्यालयमा तोडफोड गरेका थिए।

सभासद चयनलाई लिएर आक्रोशित बनेका वरिष्ठ नेताहरु भट्टराई र श्रेष्ठले मँगलबार नै आफू निकट नेताहरुसँग छुट्टा छुट्टै बैठक गरेका थिए।

यो सँगै एकीकृत माओवादीमा गुट उपगुटको राजनीति फेरि सतहमा आएको देखिएको छ।