रुवाण्डाका विपक्षी नेता मृत फेला

  • 2 जनवरी 2014
राष्ट्रपति कागामे
Image caption राष्ट्रपति कागामेमाथि विपक्षीहरुप्रति असहिष्णु भएको आरोप लाग्ने गरेको छ

दक्षिण अफ्रिकी प्रहरीले रुवाण्डाका एकजना प्रमुख विपक्षी नेताको मृत्युकाबारे छानबीन शुरु गरेका छन्।

प्याट्रिक कारेगेयाको शव बुधबार जोहानसवर्गस्थित उनी बसीरहेको होटलको कोठामा भेटिएको थियो।

आफ्ना भूतपूर्व सहयोगी रुवाण्डाका राष्ट्रपति पल कागामेलाई सत्ताबाट हटाउने योजना बनाएको आरोप लागेपछि उनी देश छाडेर दक्षिण अफ्रिका आएका थिए।

दक्षिण अफ्रिकी प्रहरीले कारेगेयाको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने बताए।

उनको घाँटी सुन्न‌िएको थियो र उनको कोठामा एउटा डोरी तथा रगत लागेको एउटा तौलिया भेटिएको थियो।

उनले दक्षिण अफ्रिकाबाटै एउटा विपक्षी दल स्थापना गरेका थिए।

मतभिन्नता

आफ्ना भूतपूर्व सहयोगी, राष्ट्रपति कागामेसंग मतभिन्नता भएपछि उनको कर्णेल पद खोसिएको थियो।

५३ बर्षीय कारेगेया गएको ६ बर्षदेखि दक्षिण अफ्रिकामा बसीरहेका थिए र उनलाई त्यहाँ राजनीतिक शरण दिइएको थियो।

उनीसँगै देश छाडेर भागेका रुवाण्डाली सेनाका भूतपूर्व प्रमुख फस्टिन कायुम्बा न्यामवासापनि गएको तीन वर्षमा दुईवटा हत्या प्रयासबाट बाँच्न सफल भएका थिए।

ती दुबै जनाले सन् २०१० मा रुवाण्डा न्याशनल कँग्रेस नामक नयाँ विपक्षी दल खोलेका थिए।

उक्त दलका संयोजक थियोने रुडासिंगावाले एसोसियटेड प्रेस समाचारसंस्थालाई भने, "कारागेया आफ्नो नाम एपोलो बताउने एकजना रुवाण्डालीलाई भेटन माइकेलेन्जेलो टावर्स होटल गएका थिए।"

उनकी श्रीमती र तीनजना छोराछोरी छन्।

उनको दलले उनको हत्याको दोष रुवाण्डा सरकारमाथि लगाएको छ।

दक्षिण अफ्रिकाकालागि रुवाण्डाका उच्चायुक्त भिन्सेन्ट कारेगाले कारायेगा एकजना शत्रु भएको बताए।

तर उनले भने, "उनको मृत्युमा कागामे सरकारको कुनै हात छैन।"

पुर्जी

रुवाण्डा सरकारले सन् २०११ मा कारायेगा र जनरल न्याम्वासा विरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो।

रुवाण्डाको एउटा सैनिक अदालतले उनीहरुको अनुपस्थितिमै राज्यको सुरक्षामा खतरा उत्पन्न गरेको तथा जातीय विभाजन बढाएको अभियोगमा दोषी ठहराउँदै लामो जेल सजाय सुनाएको थियो।

झण्डै आठ लाख मानिसहरुको ज्यान जानेगरी रुवाण्डामा भएको जातीय आमनरसंहार पछि राष्ट्रपति कागामे सन् १९९४ मा सत्तामा आएका थिए।

उनीमाथि विपक्षीप्रति असहिष्णु भएको आरोप लाग्ने गरेको छ।

राष्ट्रपति कागामेले जातीय हिंसा दोहोरिन नदिन रुवाण्डामा एउटा बलियो सरकार हुनुपर्ने कुरामा जोड दिंदै आएका छन्।