विकासशील देशमा मोटोपनको समस्या डरलाग्दो

  • 3 जनवरी 2014
obesity
Image caption चिल्लो खाना र मासुलाई मोटोपनको प्रमुख कारण मानिएको छ

एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले विकासशील मुलुकहरुमा मोटोपनको समस्या चिन्ताजनक रुपमा बढिरहेको देखाएको छ।

प्रतिष्ठित ब्रिटिश खोज संस्था दी ओभरसिज डेभ्लपमेन्ट इन्स्टिच्युटले गरेको अनुसन्धानले उक्त दर धनी मुलुकहरुको भन्दा कयौं गुणा ज्यादा रहेको समेत देखाएको छ।

खाना

सन् २००८ मा विश्वका विकासशील मुलुकहरुका आधा अर्ब मानिस मोटोपनको समस्याबाट पीडित रहेको उक्त अनुसन्धानमा उल्लेख छ।

सो संख्या १९८० को दांजोमा तीन गुणाभन्दा बढी हो।

मोटोपनको समस्या उच्च आय भएका मुलुकहरुमा भन्दा विकासशील मुलुकहरुमा तीव्र गतिमा बढिरहेको समेत पाइएको छ।

यसपछाडिको प्रमुख कारणका रुपमा खानालाई दर्शाइएको छ।

Image caption १९८० को तुलानामा २००८ मा तीन गुणाभन्दा बढीले मोटोपनमा वृद्धि आएको छ

मध्य आय भएका मुलुकका मानिसहरुले मासु र चिल्लो पदार्थ धेरै भएको खानेकुरा ज्यादा मात्रामा खाइरहेको अनुसन्धानको निष्कर्ष छ।

त्यस्तो अस्वस्थ खानपान शैलीकै कारण क्यान्सर, मधुमेह, मस्तिष्कघात, हृदयघात जस्ता समस्यामा पनि वृद्धि आएको उक्त अनुसन्धानमा उल्लेख छ।

परिणामस्वरुप सार्वजनिक स्वास्थ्य खर्चमा व्यापक बढोत्तरी भएको छ।

सुझाव

उक्त अनुसन्धान प्रतिवेदनले मोटोपनको समस्या सम्बोधनका लागि सार्वजनिक सचेतना कार्यक्रमहरु गर्न पनि सुझाएको छ।

दक्षिण कोरिया र डेनमार्कले यससम्बन्धमा सफलता हासिल गरिरहेको बताइएको छ।

विकासशील मुलुकहरुको अवस्था चिन्ताजनक रहेको औल्याएको उक्त प्रतिवेदनले विकसित देशहरुमा पनि विगतको तुलनामा मोटोपनकोसमस्यामा वृद्धि भएको भन्दै ध्यान दिन सुझाव दिएको छ।