इथियोपियामा वार्ता शुरु

  • 3 जनवरी 2014
शरणार्थीहरु
Image caption दक्षिण सुडानमा पछिल्लो हिंसाका कारण हजारौं परिवारहरु विस्थापित भएका छन्

दक्षिण सुडानमा जारी लडाईं रोक्न उद्देश्यले छिमेकी इथियोपियामा वार्ता शुरु भएको छ।

अदिस अबाबामा सरकारी तथा विद्रोही प्रतिनिधिमण्डलका सदस्यहरुले मध्यस्थकर्ताहरुसंग कुरा गरिरहेका छन्, तर उनीहरुबीच अँझै प्रत्यक्ष कुराकानी भएको छैन।

गत डिसेम्बर महिना यता राष्ट्रपति साल्भा किर तथा भूतपूर्व उपराष्ट्रपति रियक माचारका समर्थकहरुबीच भएका भीडन्तमा कम्तीमा एकहजार जनाको ज्यान गैसकेको छ।

दुबै पक्षको प्रतिनिधिमण्डलका सदस्यहरु बुधबार देखि नै अदिस अबाबा आउन शुरु गरेका थिए।

तर सबै सदस्यहरु आइपुगेपछि मात्रै वार्ता शुरु गर्ने भनेर कुराकानी शुरु भएका थिएनन्।

वार्ता

इथियोपियाको विदेश मन्त्रालयले शुक्रबार वार्ता शुरु भएको घोषणा ग-यो।

अदिस अबाबास्थित बीबीसीका संवाददाता भन्छन्, प्रतिद्वन्द्वी प्रतिनिधिमण्डलका सदस्यहरु एउटै होटलमा बसीरहेका छन्, तर उनीहरुबीच मध्यस्थकर्तामार्फत कुराकानी भैरहेको छ।

उनी भन्छन्, मध्यस्थकर्ताहरुले शुक्रबार वा शनिबारसम्ममा प्रत्यक्ष वार्ता शुरु गर्ने उद्देश्यले आधार तयार गरिरहेका छन्।

पर्यवेक्षकहरु भन्छन्, वार्ता जटिल हुने अपेक्षा गरिएको छ किनभने दुबै पक्षले युद्धविरामको अनुगमन गर्ने एउटा संयन्त्रबारे सहमति गर्नुपर्नेछ।

राष्ट्रपति किरले आफ्ना प्रतिद्वन्द्वीसंग दीर्घकालमा सत्तासाझेदारी संबन्धी कुनै संझौता नगरिने जनाएका छन्।

त्यस्तै भूतपूर्व उपराष्ट्रपति मचारले वार्ता अघि लडाईं रोक्न अस्वीकार गरीदिएका छन्।

यसैबीच संयुक्त राज्य अमेरिकाले दक्षिण सुडानमा सुरक्षा स्थिति अरु बिग्रिएको भन्दै आफ्नो राजदूतावासमा रहेका थप कर्मचारीहरुलाई फिर्ता बोलाएको छ।

विद्रोही लडाकुहरु राजधानी जुबातर्फ अघि बढिरहेको बताइंदै गर्दा सरकारी सैन्यले बोर तथा बेन्तिउ शहरहरु पुन: आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

नयाँ राष्ट्र

दक्षिण सुडान संसारकै सबैभन्दा नयां राष्ट्र हो।

दशकौं लामो द्वन्द्वपछि सन् २०११ मा सुडानबाट अलग भएर दक्षिण सुडानको निर्माण भएको हो।

दक्षिण सुडान स्वतन्त्र हुनु अघि सुडान सरकारसंग तथा आपसमा भीडन्त गरिरहेका विद्रोही समूहहरुबीच अझै पनि सामन्जस्य कायम हुन सकेको छैन।

राष्ट्रपति किर डिङ्का समुदायका सदस्य हुन् भने मचार न्युअर समुदायका।

ती दुई राजनीतिज्ञहरुबीचको मतभिन्नताले अहिले जातीय स्वरुप लिएको देखिएको छ।

दुबै पक्षका वार्ताकारहरु अदिसअबाबा पुगीसक्दा पनि सरकारी तथा विद्रोही लडाकुहरुबीच जोङलेइ तथा युनिटी राज्यहरुमा भीडन्त भैरहेको छ।