मध्ये अफ्रिकि गणतन्त्रमा झण्डै १० लाख विस्थापित

  • 4 जनवरी 2014
मध्ये अफ्रिकि गणतन्त्र
Image caption क्रिश्चियन तथा मुसलमान समूहबीच जातीय दंगा भड्किएपछि धेरै विस्थापित भएका छन्

करीब एक महिना यता बढेको द्वन्द्वका कारण मध्ये अफ्रिकि गणतन्त्रमा विस्थापितहरुको संख्या दोब्बर बढेर झण्डै १० लाख पुगेको छ।

राजधानी बांगुईबाट मात्रै, शहरको आधी जनसंख्या, अर्थात करीब ५ लाख मानिसहरु घर छाडेर भागेका छन्। ती मध्ये ६० प्रतिशत, बालबालिका रहेका छन्।

नाजुक

द्वन्द्वग्रस्त क्षेत्रमा औषधी उपचारमा संलग्न रहने, एक अन्तर्राष्ट्रिय परोपकारी संस्था, मेडिसिं साँ फ्रँन्टिए एम एस एफ ले भनेको छ, मध्य अफ्रिकि गणतन्त्रमा करीब एक लाख मानिसले शरण लिइरहेको, राजधानी बाँङ्गुइस्थित एक शिविरको अवस्था, वितेका केही दिन यता झन झन नाजुक बन्दै गएको छ।

शिविर तथा त्यहाँको एमएसएफ को क्लीनिकलाई ताकेरै, अज्ञात बन्दूकधारीहरुले हानेको गोलीले तीन बालबालिकाको ज्यान गएको, एम एस एफ कि कार्यकर्ता लिन्डिस हुरुमले बीबीसीलाई बताइन्। शिविरमा खानेकुरा अनि पिउने पानीको समेत अभाव भएको उनले बताइन्।

“विमानस्थलस्थित शिविरको हालत एकदमै गम्भीर छ। करीब एक लाख मानिसहरु अत्यन्तै खराब हालतमा बस्न वाध्य छन्। उनीहरु त्यसरी बस्न थालेको अब एक महिना पुग्न लाग्यो। उनीहरु भुईंमै बस्छन्। उनीहरुसंग पर्याप्त खाना र पानी छैन। स्वास्थ सेवा पुर्‍याउनेमा हामी मात्रै छौं,” लिन्डिस हुरुमको भनाई।

जातीय दंगा

गएको दश दिन यता, थप दुई लाख मानिसहरुले घर छाडेर भागेको राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकायले जनाएको छ।

त्यहाँ क्रिश्चियन तथा मुसलमान विद्रोहीबीच लडाईं चलेको छ।

सो देशको शासन हाल पूर्व मुसलमान विद्रोही नेता मिशेल जोटोड्याको हातमा छ।

उनले गत मार्चमा सत्ता कब्जा गरेपछि त्यहाँका बहुमत क्रिश्चियन समूहका तत्कालीन राष्ट्रपति फ्राँस्वा बोजीजे निर्वासनमा भागेका थिए।

त्यहाँ शान्ति स्थापना गर्न अफ्रिकि युनियनले ४००० सेना पठाएको छ भने सो देशलाई विगतमा उपनिवेश बनाएको फ्रान्सलेपनि १६०० सेना खटाएको छ।

धेरै विदेशी सरकारहरुले त्यहाँबाट आफ्ना नागरिकहरुलाई उद्वार गरी अन्यत्र लगेका छन्।