फल्लुजाबाट उग्रवादीहरु धपाउन इराकी प्रमको आग्रह

  • 6 जनवरी 2014
विस्थापितहरु
Image caption लडाईं चर्किएपछि फल्लुजाका हजारौं मानिसहरु घर छाडेर अन्यत्रै लागेका छन्

इराकका प्रधानमन्त्री नुरी अल मलिकीले फल्लुजा शहरका वासिन्दाहरुलाई त्यहाँ नियन्त्रण जमाएका अल कायदासँग संबद्ध उग्रवादीहरुलाई त्यहाँबाट धपाउन आग्रह गरेका छन्।

उनले यद‌ि त्यहाँका जनताले, उनकै शब्दमा आतंककारीहरुलाई धपाएमा सरकारले पुरै शक्ति लगाएर धावा बोल्न नपर्ने पनि जनाए।

इराकी सरकारी सैन्यले गरिरहेका गोलाबारी तथा हवाइ हमला र भीडन्तबाट बच्न हजारौं मानिसहरुले फल्लुजा शहर छाडेका छन्।

इराकी सैन्यले गएको कैयौं दिनदेखि सरकारको नियन्त्रणमा नरहेको फल्लुजा शहरलाई फेरि आफ्नो नियन्त्रणमा लिन प्रयस गरिरहेका छन्।

कब्जा

इस्लामिक स्टेट अफ इराक तथा लेभन्त भनिने इस्लामिक उग्रवादीहरुले उक्त शहरमा कब्जा जमाएका थिए।

बीबीसीसँग कुरा गर्दै इराकका भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मोवाफ्फक अल रुबाइले पुरै इराकलाई अल कायदासंग संबद्ध उग्रवादीहरुको हमलाबाट रोक्न असंभव भएको बताए।

उनले भने, करोडौं इराकीहरुलाई हातहतियार दिन र हरेक सडकमा सुरक्षा उपलब्ध गराउन सकिंदैन।

उनले उग्रवादीहरु अत्यन्त प्रशिक्षित, प्रतिबद्ध र निर्मम भएको पनि बताए।

इराकी प्रधानमन्त्रीका एकजना सल्लाहकार साद अल मुतालबीले विद्रोहीहरुले छिमेकी सिरियाबाट हातहतियार ल्याइरहेको बताएका छन्।

उनले साउदी अरेबियाले सिरियाका विद्रोहीहरुलाई उपलब्ध गराएको हातहतियार तथा क्षेप्यास्त्र ठूलो मात्रामा तस्करी गरेर इराकी शहरहरुमा पुराईएको पनि बताए।

अमेरिका तथा इरान दुबैले इराक सरकारलाई सैन्य सहायता उपलब्ध गराउने तर सैनिकहरु चाहिं नपठाउने प्रस्ताव गरेका छन्।

गत महिना सुरक्षाकर्मीहरुले सुन्नी अरबहरुले रमादी शहरमा खडा गरेको एउटा विरोध शिविर हटाइदिएपछि अनवर प्रान्तमा हिंसा चर्किएको थियो।