सिरेटोका कारण अमेरिकामा जनजीवन प्रभावित

  • 6 जनवरी 2014
मौसम
Image caption ज्यादा जाडोका कारण अधिकारीहरुले मानिसहरुलाई घरभित्रै रहन सल्लाह दिएका छन्

उत्तरी ध्रुवको आर्कटिक क्षेत्रबाट आएको सिरेटोले संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम क्षेत्र मिडवेष्टमा आगामी केही दिनमा तापक्रम रेकर्ड स्तरमा ओर्लने बताइएको छ।

कतिपय ठाउँमा अहिलेनै तापक्रम माइनस ३० डिग्री पुगिसकेको छ। त्यसमाथि चीसो हावा चलेका कारण मानिसहरुको ज्यानै लिन सक्ने स्तरको माइनस ५० डिग्रीमा तापक्रम ओर्लिएको अनुभव भएको जनाइएको छ।

अधिकारीहरुका अनुसार धेरै अमेरिकिहरुले यस्तो जाडोको अनुभव कहिले गरेका थिएनन्।

शिकागो शहरका एक अधिकारीले भने, “के कुरामा ध्यान दिनु जरुरी छ भने हिउं र सिरेटो सहितको यस्तो कठ्यांग्रिदो जाडोमा स्वाभाविक दैनिक क्रियाकलाप जारी राख्न सम्भव हुँदैन।”

कठ्याँग्रियो

हिउँ आँधीका कारण क्यानडा तथा अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा दुई फिटसम्मको हिमपात भइसकेको छ।

शनिबार यता कठ्यांग्रिदो चीसो मौसमका कारण, १६ जनाको ज्यान गएको छ भने ३७०० उडानहरु रद्द गरिएका छन्।

क्यानडाको टोरन्टोबाट न्यूयोर्क आइपुगेको एक विमान त्यहाँको जेएफके विमानस्थलको धावनमार्गमा जमेको बरफमा चिप्लिएको थियो। कोही पनि घाइते त भएनन् तर त्यसपछि दुई घण्टासम्म सबै उडान स्थगित गरिए।

तापमानमा आएको तीव्र गिरावटको दोषी पोलार भोर्टेक्स भनिने उत्तरी ध्रुवबाट आएको चीसो र सघन हुरीलाई दिइएको छ। सिरेटोका कारण उत्तर तथा मध्य अमेरिकामा तापक्रम माइनस ५१ डिग्री सेल्सियस सम्म पुगेको अनुभव हुनसक्ने बताइएको छ।

अधिकारीहरुले मानिसहरुको सुरक्षा तथा बाटोघाटोबाट हिउँ हटाउनका निम्ति उनीहरुलाई घरभित्रै रहन चेतावनी दिएका छन्।

मौसम विभागका अनुसार उत्तरी ध्रुवको आर्कटिक क्षेत्रबाट शनिबार रातीदेखी आएको तीव्र वेगको हावा मंगलबारसम्म चल्न सक्छ। सो हावाले दुई दशक यताकै सबभन्दा न्यून विन्दूमा तापक्रम पुर्‍याइदिएको छ।

यसभन्दा अगाडि त्यसरी आर्कटिक क्षेत्रबाट सिरेटो सन् १९९४ मा आएको बताइएको छ।