मलिकिद्वारा फलुजाहबाट विद्रोही धपाउन आह्वान

  • 7 जनवरी 2014
फलुजाहका लडाकूहरु
Image caption विद्रोहीहरुले पश्चिमी अनवर प्रान्तका शहरहरुमा हमला गरी फलुजाह र रमाडि कब्जा गरेका छन्

इराकका प्रधानमन्त्री नुरी अल मलिकिले फलुजाहका बासिन्दाहरुलाई शहर कब्जा गरेका अल कायदासंग सम्बन्ध विद्रोहीहरुलाई शहरबाट धपाउन आव्हान गरेका छन्।

स्थानिय बासिन्दाहरुले तिनलाई धपाए सैनिक कारबाही जरुरी नपर्ने उनले बताएका छन्।

केही दिन यता विद्रोहीको नियन्त्रणमा गएको फलुजाहमाथि कारबाही गर्ने तयारीमा इराकी सेना रहेको बताइएको छ।

अमेरिकि सहायता

संघर्षरत इराकी सरकारलाई मद्दत गर्न अमेरिकाले सैन्य सामाग्रीको सहायता पठाउँदैछ।

वाशिंगटनले छिट्टै मानव रहित विमान ड्रोन पठाउन लागेको ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले बताएका छन्।

केही साताभित्र १० वटा अनि अलि पछि थप गरी ४८ वटा ड्रोन पठाइनेछन्।

“हामीले हाम्रा वैदेशिक सैन्य विक्रिलाई तीव्र पारेका छौं। यही बसन्त ऋतुभित्रै हेलफायर क्षेप्यास्त्रहरुपनि दिइनेछ,” जे कार्नेको भनाई।

उनका अनुसार कारबाहीको नेतृत्वको जिम्मा इराकीहरुकै रहनेछ।

अल कायदा सम्बद्ध विद्रोहीहरुलाई अलग्याउन अमेरिकाले नजिकबाट सहयोग गर्ने उनले बताए।

विद्रोह

Image caption विद्रोहीबाट नियन्त्रण खोस्न इराकी सेना तम्तयार स्थितिमा राखिएको बताइन्छ

हाल फलुजाह शहरको अधिकांश भाग आइएसआइएस भनिने इस्लामिक स्टेट इन इराक एन्ड लिभान्टको नियन्त्रणमा छ।

मलिकिका सल्लाहकार साद अल मुतालबीले बीबीसीलाई त्यहाँ द्वन्द्वग्रस्त छिमेकि सिरियाबाट हातहतियार तश्करी गरी ल्याइएको बताए।

अनवर प्रान्तमै रहेको अर्को शहर रमाडीमापनि लडाईं भइरहेको छ।

सरकार विरोधी सशस्त्र समूह फलुजाह मिलिटरी काउन्सीलका एक कमान्डरले सरकारी फौजलाई सहयोग गर्ने स्थानिय बासिन्दालाई सजाय दिने चेतावनी दिएका छन्।

विद्रोहीहरुले त्यहाँका सुन्नी समुदायका मानिसहरुलाई इराकको शिया बहुल सरकार विरुद्धको आफ्नो संघर्षमा साथ दिन आह्वान गरेका छन्।

खासगरी सुन्नी समुदायका निम्ति फलुजाह शहरको निकै ठूलो प्रतीकात्मक अर्थ रहने गर्छ।

इराकमा सुन्नी अरब समुदायका धेरै मानिसहरुले शिया बहुल सरकारले आफुहरुलाई सिमान्तकृत गरिदिएको भन्दै रोष प्रकट गर्ने गर्छन्।