'गर्मी याममा विश्व कप आयोजना नगरिने'

  • 8 जनवरी 2014
विरोध
Image caption कतारमा श्रमिकहरुको स्थितिलाई लिएर विश्वव्यापी विरोध भएका थिए

विश्व कप फुटबल आयोजना गर्ने सर्वोच्च निकाय फिफाका महासचिवले भनेका छन्, सन् २०२२ मा कतारमा आयोजना गरिने विश्व कप गर्मी महिनाहरुमा आयोजना गरिने छैन।

जेरोम भाल्कले भने, "उक्त खेल फुटबल खेलका लागि राम्रो मौसम हुने जाडो याममा आयोजना गरिने छ।"

गर्मी महिनाहरुमा कतारको तापक्रम चालिस डिग्रीभन्दा बढी हुन्छ, जसले गर्दा फिफाले परम्परागतरुपमा गर्मी याममा आयोजना गरिने विश्व कप अर्को याममा गर्न मिल्छ कि मिल्दैन भन्ने सुझाव दिन एउटा आयोग गठन गरेको थियो।

तर फिफाका एकजना प्रवक्ताले यो वर्ष ब्राजिलमा विश्व कप आयोजना गरिनु अघि यसबारे औपचारिक निर्णय नगरिने बताए।

आयोजना

रेडियो फ्रान्ससंग कुरा गर्दै फिफाका महासचिव जेरोम भाल्कले जुन, जुलाई जस्ता गर्मीका महिनामा कतारमा विश्व कप आयोजना नगरिने जनाए।

उनले १५ नोभेम्बर देखि १५ जनवरीको बीचमा उक्त खेल आयोजना गर्न सकिने अपेक्षा पनि व्यक्त गरे।

गत डिसेम्बर २०१० मा सन् २०२२ को विश्व कप आयोजना गर्ने मुलुकका रुपमा कतारलाई छनोट गरिएपछि त्यहाँ गर्मी याममा खेल आयोजना गर्न सकिन्छ कि सकिँदैन भन्ने विवाद चर्किएको थियो।

कतारको प्रचण्ड गर्मी खेलाडी र दर्शक दुबैकालागि नोक्सानदायी हुनसक्ने आशँका व्यक्त गरिएको थियो।

फुटबलको इतिहासमै अहिलेसम्म आयोजना गरिएका विश्व कपहरु कहिल्यै पनि जाडो याममा आयोजना गरिएको छैन।

सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न कतारसंग प्रतिस्पर्द्धा गरेको मुलुक अष्ट्रेलियाले यदि जाडो याममा उक्त खेल आयोजना गरिने हो भने आफुले फिफासँग क्षतिपूर्ति माग्ने जनाएको थियो।

‘दासजस्तो अवस्था’

गत वर्ष सेप्टेम्बर महिनामा एउटा ब्रिटिश समाचारपत्र दि गार्डियनले कतारमा विश्व कप आयोजना गर्नकालागि स्टेडियम निर्माण लगायतका काममा संलग्न नेपाली कामदारहरुलाई दासजस्तै अवस्थामा काममा लगाइएको भन्ने समाचारहरु प्रकाशित गरेको थियो।

निर्माण कार्यमा संलग्न कैयौं नेपाली कामदारहरुको मृत्यु भएको पनि उक्त अखबारले उल्लेख गरेको थियो।

एउटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरन्याशनलले पनि कतारमा निर्माण क्षेत्रमा कार्यरत विदेशी कामदारहरुप्रति व्यापक दुर्व्यवहार गरिएको जनाएको थियो।

केही विदेशी कामदारहरुलाई वाध्यात्मक श्रमिकको रुपमा काममा लगाइएको पनि एम्नेष्टीले जनाएको थियो।

ती समाचारहरु पछि कतारमा विश्व कप आयोजना गर्न गठित सर्वोच्च समितिले गत वर्षको अन्त्यसम्ममा कामदारहरुको सेवा तथा सुरक्षाको स्तरबारे सार्वजनिकरुपमा जानकारी दिने जनाएको थियो।

कतारका अधिकारीहरुले कामदारहरुलाई सुरक्षित काम गर्ने वातावरण उपलब्ध गराउनेतर्फ आफुहरु संवेदनशील भएको बताउने गरेका छन्।