न्यूयोर्कका भूतपूर्व सुरक्षाकर्मीहरुमाथि जालसाजीको अभियोग

  • 8 जनवरी 2014
साइरस भान्स
Image caption न्यूयोर्कका डिस्ट्रीक्ट एटोर्नी साइरस भान्सले जालसाजीको घटना स्तब्धकारी भएको बताए

संयुक्त राज्य अमेरिकामा अवकाशप्राप्त एकसयजना भन्दा बढी प्रहरी, अग्नी नियन्त्रक र जेल सुरक्षाकर्मीमाथि सामाजीक सुरक्षा सम्बन्धि संघिय कोषमा ठूलो जालसाजी गरेको अभियोग लगाइएको छ।

ति भूतपूर्व अधिकारीहरुले झुठो विवरण पेश गरेर आफू मानसिक र मनोवैज्ञानिक रुपमा असक्त भएको भनी एकदशक भन्दा लामो समय देखि करोडौं डलर सुविधा भत्ता लिइरहेका सरकारी वकिलहरुले बताएका छन्।

अभियोग लागेकाहरुले, तिनीहरु आफ्नो खतरनाक र तनावपूर्ण कामको प्रकृतिका कारण उत्पन्न मानसिक र मनोवैज्ञानिक अपांगताले गर्दा पूर्ण रुपमा अशक्त भएको दावी गरेका थिए।

अशक्त ति मध्ये धेरै जसो न्यु योर्कका छन् र धेरैले सेप्टेम्बर ११ मा त्यहां हमला भएका बेला काम गर्न जांदा आफूलाई मानसिक आघात पुगेको र आफू अशक्त भएको बताएका छन्।

तर तिनीहरुको फेसबुक पेज र अन्य वेबसाइटहरुले भने भिन्न तस्वीर प्रस्तुत गरेको छ।

कोहीले जेट स्की चलाइरहेका, कोही मोटरसाइकलमा सवार, कोही मार्शल आर्ट प्रशिक्षक त कोही हेलिकप्टर पाइलटका रुपमा कार्यरत रहेको फेला परेको थियो।

अभियोजनकर्ताहरुका अनुसार यो सम्पूर्ण योजनामा एकहजारजना सम्म मानिसहरु संलग्न रहेको देखिएको छ।

तिनीहरुका अनुसार यो सबै जालसाजी योजना चार जना अगुवाहरुबाट संचालित थियो र तिनीहरुले ति अवकाशप्राप्त कर्मचारीहरुलाई शारिरिक र मानसिक परिक्षणका बेला कसरी झुठो बोल्ने र छल गर्ने भनेर प्रशिक्षण दिएका थिए।

अस्वीकार

ति चारै जनाले आफू माथि अदालतमा लगाइएको अभियोगलाई अस्वीकार गरेका छन्।

एकजना भूतपूर्व प्रहरी अधिकारी र अपांगता सम्बन्धि परामर्शदाता सहितका ति चार जनालाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो।

तिनीहरु दश लाख डलर धरौटीमा रिहा भएका छन्।

यो जालसाजी प्रकरणमा अभियुक्तहरुले करोडौं डलर दुरुपयोग गरेको ठानिएको छ।