भारतीय कुटनीतिज्ञमाथि अमेरिकामा औपचारिक अभियोग

  • 10 जनवरी 2014
देवयानी खोब्रगाडे
Image caption देवयानी खोब्रगाडेलाई कुटनीतिक उन्मुक्तिपछि अमेरिका छाड्न भनिएको बताइएको छ

संयुक्त राज्य अमेरिकामा गिरफ्तारीमा परेपछि भारतको तर्फबाट भएको चर्को विरोधको केन्द्रमा रहेकी भारतीय कुटनीतिज्ञ देवयानी खोब्रगाडेलाई औपचारिक अभियोग लगाउने निर्णय गरिएको छ।

तर अमेरिकी सरकारी वकिलहरुले ३९ बर्षिया देवयानी खोब्रगाडेलाई कुटनीतिक उन्मुक्ति पनि प्रदान गरिएको बताएका छन्।

उनलाई अब अमेरिका छाडेर जान भनिएको बताइएको छ।

ति भारतीय कुटनीतिक कर्मचारीलाई राहदानी सम्बन्धी जालसाजी गरेको र आफ्नो घरमा काम गर्ने घरेलु सहयोगीलाई कानूनी व्यवस्थाभन्दा थोरै तलब दिएको आरोपमा गत महिना न्यूयोर्कमा गिरफ्तार गरिएको थियो।

अभियोग

तिनलाई अब ति घरेलु सहयोगीको राहदानी आवेदनमा जालसाजी गरेको र गलत बयान दिएको भनी औपचारिक अभियोग लगाइएको छ।

तर तिनलाई प्राप्त कुटनीतिक उन्मुक्तिको आधारमा यथाशिघ्र अमेरिका छाडेर जान भनिएको बताइएको छ।

अमेरिकी सरकारी वकिलहरुले उनी विरुद्धको अभियोग अब मुल्तवीमा रहने बताएका छन्।

उनलाई हतकडी लगाएर र जीउमा सर्वांग खानतलाशी गरेर अपमान गरिएको भन्दै भारतले अमेरिकासंग क्षमा याचनाको माग गरेको थियो।

आरोप

उनकी घरेलु सहयोगी संगीता रिचर्डको उजुरीमा खोब्रगाडे पक्राउ परेकी थिइन्।

Image caption देवयानी खोब्रगाडेको गिरफ्तारीप्रति भारतमा चर्को आक्रोश व्यक्त भएको थियो

उनले आफू विरुद्धका सबै आरोपहरुको खण्डन गरेकी छिन र संगीता रिचर्डले नै आफूलाई 'ब्ल्याकमेल' गर्न खोजेको आरोप लगाएकी थिइन्।

कुटनीतिज्ञको गिरफ्तारी पछि दिल्लीले अमेरिका विरुद्ध केहि जवाफी कदमहरु चालेको थियो।

दिल्लीस्थित अमेरिकी दूतावास वरपरको सुरक्षा घेरा हटाइएको थियो भने त्यसबेला भारत भ्रमणमा रहेको अमेरिकी प्रतिनिधिमण्डललाई बरिष्ठ भारतीय नेताहरुले बेवास्ता गरेका थिए।

यो कुटनीतिक विवादका माझ अमेरिकी उर्जा मन्त्री अर्नेस्ट मोनिजको पूर्वनिर्धारित भारत भ्रमण पनि स्थगित भएको छ।