दक्षिण सुडानमा थप शान्ति सेना पठाइंदै

  • 10 जनवरी 2014
Image caption नेपाली सेनाका अनुसार विश्वभरी १३ वटा मिसनमा ३७ सय भन्दा बढि सैनिकहरु खटिएका छन्

अफ्रिकाको दक्षिण सुडानमा सरकार र विद्रोही बीच भिडन्त चर्कंदै गर्दा नेपाल सरकारले उक्त देशमा थप साढे आठ सय शान्ति सेना पठाउने निर्णय गरेको छ।

राष्ट्रसंघको विशेष अनुरोधमा थप सेना पठाउन लागेको रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन्।

सक्षम

मन्त्रिपरिषदको विहिबारको बैठकले द्वन्द्वग्रस्त दक्षिण सुडानमा साढे आठ सय शान्ति सैनिक पठाउने निर्णय गरेको थियो।

त्यहाँ राष्ट्रपति साल्भा किइरका समर्थक र उनका भूतपुर्व उपराष्ट्रपति रियक मशारका समर्थकहरुबीच युद्ध चर्किरहेको छ।

सबैभन्दा कान्छो देश दक्षिण सुडानमा केही हप्ता यतामात्रै चर्कीएको द्वन्द्वमा हजार भन्दा बढिले ज्यान गुमाएका छन्।

द्वन्द्व उत्कर्षमा पुगेको उक्त क्षेत्रमा राष्ट्र संघको विशेष अनुरोधमा नेपाली शान्ति सेना पठाउन लागिएको रक्षा मन्त्रालयका प्रवक्ता द्वारीका आचार्यले बताए।

उनले भने, “राष्ट्र संघको विशेष अनुरोधमा हामीले त्यहाँ शान्ति सेना पठाउन लागेका हौं।

"नेपाली सेना यस्तो काममा अलि बढि सक्षम भएकोले हामीलाई बढि विश्वास गरेको हो कि? अरु देशकाहरु जान नसक्ने ठाउँमा नेपाली सेना जान तयार हुनु र गर्न सक्नु अनि त्यहाँ गएर सफल हुनु त एउटा राम्रो पक्ष नै हो नि।”

योगदान

दक्षिण सुडानमा साढे आठ सय नेपाली सैनिक पहिले देखि नै खटिएकोले अहिले जाने टोलीले उनीहरुको काममा सहयोग गर्ने प्रवक्ता आचार्यले बताए।

“दुई वर्षदेखि त्यहाँ एउटा टोली छ। शरणार्थीहरुको सुरक्षाको काममा उनीहरु खटिएका छन्। यस्तै काम गर्ने हो अहिले जानेहरुले पनि” प्रवक्ता आचार्यले बताए।

नेपाली सेनाका अनुसार विश्वभरी १३ वटा मिसनमा ३७ सयभन्दा बढि नेपाली सैनिक खटिएका छन्।

राष्ट्रसंघको शान्ति मिसनमा सैन्य योगदानको हिसाबले नेपाल विश्वको सातौं स्थानमा पर्छ।

शान्ति स्थापनाको क्रममा हालसम्म नेपाली सेनाका ५९ जनाले ज्यान गुमाएका छन् भने ५८ जनाको अंगभंग भएको छ।