मध्य अफ्रिकी गणतन्त्रमा भिडन्त जारी

  • 11 जनवरी 2014
मध्य अफ्रिकी गणतन्त्र
Image caption मध्य अफ्रिकी गणतन्त्रमा राष्ट्रपतिको राजीनामा पछि ईशाई क्षेत्रका बासिन्दाले खुशीयाली मनाएका थिए

मध्य अफ्रिकी गणतन्त्रमा, देशका प्रथम मुसलमान राष्ट्रपति मिशेल जोटोड्या को राजीनामा पछि थप भिडन्तहरुका विवरणहरु प्राप्त भएका छन्।

राजधानी बानगुईका केहि भागमा ईशाई र मुसलमान मिलिशियाबीच गोली हानाहान भएको छ।

त्यसअघि, बानगुईको ईशाई क्षेत्रका बासिन्दाले राष्ट्रपति जोटोड्याको राजीनामाको घोषणा पछि सडकहरुमा निस्केर नाचगान गर्दै खुशी मनाएका थिए।

मिशेल जोटोड्यालाई उनी गत बर्षमा सत्तामा आए यता एकहजार जना भन्दा बढी मानिसको ज्यान जाने गरी भएको साम्प्रदायिक हिंसा रोक्न असफल भएकोमा आलोचना गरिएको थियो।

दायित्व

उनले स्थानीय समर्थन गुमाउंदै गएका थिए र त्यस क्षेत्रका अफ्रिकी नेताहरुले पनि उनलाई एउटा दायित्वका रुपमा लिन थालेका थिए।

फ्रान्सको हात पनि टाढा थिएन। उस्ले यो अफ्रीकी समस्या हो र अफ्रीकीहरुले नै यसलाई समाधान गर्नु पर्छ भनेर जोड दिइरहेको भएता पनि आफ्ना १६ सय सैनिक त्यस तर्फ पठाएको थियो।

तर मिशेल जोटोड्याको बहिर्गमनले स्थितीमा खासै परिवर्तन ल्याउने जस्तो देखिंदैन कम्तीमा अल्पकालका लागि।

त्यहांको द्वन्द्व जटिल र विभाजनकारी छ र त्यसले चरम मानवीय संकट समेत निम्त्याएको छ।

फ्रान्सले अब विना कुनै विलम्ब नयां राष्ट्रपति नियुक्तिका लागि आह्वान गरेको छ।

ब्रसल्समा, युरोपेली संघका कुटनीतिज्ञहरुले मध्य अफ्रिकी गणतन्त्रमा एकहजार जना शान्ति स्थापक सैन्य पठाउने योजनामा काम गर्दैछन्।