हजारौं इजरायलीहरुद्वारा शरोनप्रति श्रद्धान्जली

  • 12 जनवरी 2014
Image caption ८ बर्षयता कोमामा रहेका पूर्वप्रधानमन्त्री शरोनको शनिबार मृत्यु भएको थियो

इजरायलका राष्ट्रपति शिमोन पेरेजले इजरायलको संसद बाहिर राजकीय सम्मानका साथ राखिएका भूतपूर्व प्रधानमन्त्री आरिअल शरोनको शवमा श्रद्धान्जली व्यक्त गरेका छन्।

उनले शरोनको शवमाथि पुष्प गुच्छा चढाउनुका साथै मौन धारण पनि गरेका थिए।

हजारौं इजरायलीहरुले पनि दिवंगत नेताप्रति श्रद्धान्जली व्यक्त गरिरहेका छन्।

जेरुसलमका एकजना वासिन्दा मोसे हाइनले भने, "यो देशको शुरुवात देखि, सम्पूर्ण युद्धकालमा त्यस्तै राजनीतिक उतारचढावमा पनि उहाँले देशको नेतृत्व गर्नुभयो। गाजामा उहाँको कामका बारे तपाईं सहमत वा असहमत जे भएपनि मेरो विचारमा उहाँ त्यस्तो व्यक्ति हो जसले आफ्नो पुरै जीवन यहुदी जनता र यहुदी राज्यकालागि दिनुभयो।"

आठ वर्षसम्म अचेत अवस्थामा रहेका शरोनको शनिबार निधन भएको थियो।

सोमबार विश्व नेताहरुको समेत उपस्थितिमा एउटा श्रद्धान्जली सभा आयोजना गरिएपछि दक्षिणी इजरायलस्थित उनको निजी जग्गामा उनलाई समाधिस्थ गरिने छ।

देशभरि राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

सम्मान

आठ बर्षसम्म अचेत अवस्थामा रहेर शनिबार मृत्यु भएका ८५ बर्षिय पूर्व प्रधानमन्त्री एवं जर्नेल एरियल शरोनको इजरेल र पश्चिमा नेताहरुले प्रशंसा गर्दै उनीप्रति सम्मान व्यक्त गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले उनी देशले कहिल्यै नविर्सने नेता भएको बताएका छन्।

इजरेलको सस्थापक पुस्ताका नेताहरु मध्ये शरोन सबैभन्दा अग्रणी थिए।

प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले शरोन सधैँभरि राष्ट्रको मनमा बस्ने बताए।

प्रधानमन्त्रीले भने, “एरियल शरोनले इजरेल राज्यको रक्षाको लागी बर्षौ भएका संघर्षमा केन्द्रिय भूमिका खेले ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले शरनले आफ्नो सम्पूर्ण जीवन इजरेलको लागि समर्पण गरेको बताए।

प्यालेस्टीनी पक्षले चांही शरोनप्रति फरक प्रतिक्रिया दिएको छ।

एक प्यालेस्टीनी नेता मुस्ताफा बारगौतीले भने, "शरोनले आक्रमण गर्ने बाटो रोजेका थिए त्यसैले उनको कुनै असल काम प्यालेस्टीनीहरुलाई सम्झना छैन।"

खुसियाली

गाजामा शरोनको निधनपछि खुशीयाली मनाइएको छ।

त्याहाँ मानिसहरुले मिठाइ बाँडेका थिए।

त्यहाँस्थित अतिवादी संगठन हमासले शरोनको हात प्यालेस्टीनीरुको रगतले लतपतिएको प्रतिक्रिया दिएको छ।

अल जजिरा र अन्य अरबी च्यानलहरुले आफ्ना समाचार सामाग्रीहरुमा शरोनको मृत्युलाई कम महत्व दिएका छन्।

सर्वसाधारणलाई अन्तिम सम्मान व्यक्त गर्ने मौका दिन आइतवार शरोनको शवबाकसलाई इजरेलको संसद परिषरमा राख्न लागिएको छ।

उनको अन्त्येटीमा विभिन्न विश्वनेताहरु सहभागी हुने अनुमान गरिएको छ।