‘संविधानसभाको बैठकको तयारी तीव्र'

  • 12 जनवरी 2014
Image caption संविधानसभा बैठकका लागि भौतिक पुर्वाधार लगभग सबै तयार भएको संसद सचिवालयले जनाएको छ

माघ आठ गतेका लागि आव्हान गरीएको संविधानसभाको पहिलो बैठकललाई मध्य नजर गर्दै संविधानसभा भवनको लगभग ९९ प्रतिशत भौतिक पुर्वाधार तयार भइसकेको संविधानसभा सचिवालयले जनाएको छ।

नयाँ संविधानसभाको कार्य सञ्चालनलाई सहज बनाउन संविधानसभा नियमावलीमा समेत आवश्यक परिमार्जन सहित सुझावको खाका तयार गरीसकेको सचिवालयका प्रवक्ताले बताएका छन्।

व्यवस्थापन

संविधानसभाको पहिलो बैठक मंसिर आठ गते दिउसो तीन बजे बस्ने गरी मन्त्रि परिषदका अध्यक्षले शनिबार आव्हान गरीसकेका छन्।

बैठक बस्नको लागि काठमाण्डुको नयाँ बानेश्वरमा रहेको संविधानसभा भवनका भौतिक पु्र्वाधारहरु लगभग तयारी अवस्थामा रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

उनले भने, “नयाँ ८० वटा माइकहरु व्यवस्थापन गरीसकेका छौं, श्रव्य-दृष्यको लागि आन्तरिक प्रशारण प्रणालीमा केही परिवर्तन गरेका छौं।

संसदीय दल र पदाधिकारीहरुको कार्यालयलाई परिमार्जन गरेका छौं। ९९ सय प्रतिशत काम पुरा गरीसकेका छौं।”

अहिले सरसफाईका केही कामहरु मात्र बाँकी रहेको उनको भनाई छ।

खाका

पहिलो संविधानसभाले पुरा गरेको कामलाई अहिलेको संविधानसभाले स्वामित्व लिने भनेर प्रमुख राजनीतिक दलहरुले बताई सकेको अवस्थामा संविधानसभा नियमावलीमा समेत परिमार्जन गर्नु पर्ने आवश्यकता महशुस गर्दै सचिवालयले त्यसको पनि तयारी गरीसकेको प्रवक्ता शर्माले बताए।

“स्वामित्व ग्रहण गर्दै बाँकी विवादित मुद्दाहरु अगाडी बढाउने सन्दर्भमा हिजोको नियमावलीमा कहाँ के कस्तो परिमार्जन गर्न आवश्यक देखिएको छ, त्यसलाई हामीले सुझावको रुपमा खाका तयार गरीसकेका छौं।”

“प्रारम्भिक विन्दुदेखि नै संविधान निर्माणको काम गर्ने हो भने विद्यमान नियमावलीमा के कस्ता कमजोरीहरु रहे, त्यसलाई सुधार गर्न सुझावको सूची तयार गरेका छौं।”

संविधानसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउन नयाँ सभासदहरुलाई अभिमूखीकरणको लागि समेत गृहकार्य भइरहेको संसद सचिवालयले जनाएको छ।