हरिरिको हत्याबारे दि हेगमा सुनुवाइ शुरु

  • 16 जनवरी 2014
रफिक हरिरि तस्वीर कपीराइट AP
Image caption रफिक हरिरिको हत्यापछि लेबनानमा साम्प्रदायिक तनाव बढेको थियो

लेबनानका भूतपूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको अभियोग लागेका चार जना पुरुषहरु विरुद्ध दि हेगस्थित एउटा विशेष अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ शुरु भएको छ।

हेजबोल्लाह आन्दोलनसंग संबद्ध ती चारैजनाको अनुपस्थितिमै उक्त सुनुवाइ हुन लागेको हो।

नौ बर्ष अघि बेरुतमा गराईएको एउटा ठूलो बम विष्फोटनमा हरिरि सहित बाइस जनाको ज्यान गएको थियो।

हेजबोल्लाहले उक्त हमलामा आफ्नो संलग्नता भएको भन्ने आरोपहरु अस्वीकार गर्दै आएको छ।

सुनुवाइ

सिरियाली सरकारको समर्थन प्राप्त हेजबोल्लाह आन्दोलनका चार जना अहिलेसम्म पक्राउ परेका छैनन, त्यसैले उनीहरुको अनुपस्थितिमै सुनुवाइ शुरु भएको हो।

सुनुवाइको शुरुमा अभियोक्ता नर्मन फेरेलले भने, “लेबनानको राजधानीमा मानिसहरुले भरिएको एउटा सडकमा दिउँसो मध्यान्हमा उक्त अपराध भएको थियो। उक्त हमलामा लेबनानका एकजना प्रमुख राजनीतिक व्यक्तित्व भूतपूर्व प्रधानमन्त्रीलाई निशाना बनाइएको थियो। हमलाकारीहरुले निर्दोष बटुवाहरु, एकजना विद्यार्थी, एकजना होटल कामदार, बुवा, आमा, छोरी र साथीहरुको हत्या गरे।“

बेरुतमा सन् २००५ मा गराईएको उक्त कार बम हमलामा हरिरि सहित तेइस जनाको ज्यान गएको थियो।

उक्त हत्या पछि लेबनानमा साम्प्रदायिक ध्रुवीकरण भएको थियो र सिरियाले त्यहाँबाट आफ्ना सैन्यहरु फिर्ता गरेको थियो।

हेजबोल्लाहले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।

षडयन्त्र

उसले उल्टो सो हमला इजरायली तथा अमेरिकी षडयन्त्रको एक हिस्सा भएको बताउँदै आएको छ।

दि हेगमा न्यायाधीश डेभिड रेले प्रतिवादीहरु उपस्थित नभएपनि उनीहरुलाई उपस्थित मानेर तथा उनीहरुले आफुहरुमाथि लगाइएको आरोप अस्वीकार गरेको ठानेर सुनुवाइ शुरु हुने बताए।

सुनुवाइमा हरिरिका छोरा साद तथा परिवारका अन्य सदस्यहरु उपस्थित थिए।

बेरुतस्थित बीबीसीका संवाददाता जीम म्युर भन्छन्, संयुक्त राष्ट्र संघको समर्थन प्राप्त यो सुनुवाइ एउटा अपूर्व अवसर हो।

उनी भन्छन्, कुनै अन्तर्राष्ट्रिय अदालतमा आतँकवादसंबन्धी मुद्दामा सुनुवाइ हुन लागेको यो पहिलो पटक हो। त्यस्तै दोश्रो विश्वयु्द्ध पछिको न्युरेम्वर्ग सुनुवाइ पश्चात् प्रतिवादीहरुको अनुपस्थितिमै हुन लागेको पनि यो पहिलो अन्तर्राष्ट्रिय सुनुवाइ हो।

दोष

लेबनानका सबैभन्दा प्रभावशाली सुन्नी नेताहरुमध्ये एक हरिरिको हत्याकालागि उनका समर्थकहरुले सिरियामाथि दोष लगाएका थिए।

सिरिया विरुद्ध व्यापक विरोध प्रदर्शनहरु भएपछि सन् १९७६ देखि लेबनानमा तैनाथ सिरियाली सेनालाई त्यहाँबाट फिर्ता बोलाइएको थियो।

संयुक्त राष्ट्र संघले सन् २००७ मा उक्त बम हमलाको छानबीन गर्न एउटा विशेष अदालत गठन गरेको थियो।

उक्त अदालतले सन् २०११ मा मुस्तफा बाद्रेदिन, सलिम अय्याश, हुसेन ओनिशी र असद सब्रा विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। विशेष अदालतले पाँच सय जना साक्षीहरुलाई तिनका बयान दिन बोलाएको छ।

सुनुवाइ सकिन महिनौं वा बर्षौं पनि लाग्न सक्नेछ।