चीनमा विशाल स्तरमा सुंगुरको 'क्लोनिंग'

  • 18 जनवरी 2014
सुंगुरका शल्य क्रिया
Image caption भ्रूण प्रत्यारोपणका निम्ति सुंगुरको शल्य क्रिया कक्ष खोरहरु नजीकै स्थापना गरिएको छ

दक्षिण चीनको पहाडी भेगमा अवस्थित लामो घरहरुको लहरमा पुग्नु भन्दा अघि परबाट नै सुंगुरहरु कराएको आवाज सुन्न सकिन्छ।

यहांको सुंगुर पालन केन्द्रमा, सामान्यतया दाना खुवाउने बेला सुंगुरहरुले आआफ्नो खोरको रेलिंगमा ठेलमठेल गर्दै अरुबेला भन्दा चर्को आवाज निकाल्ने गर्छन्।

तर यो कुनै समान्य सुंगुरपालन केन्द्र भने होइन।

बीजीआइ नामको एउटा तीब्र गतिमा विकास गरिरहेको कम्पनीले संचालन गरेको यो सुंगुरपालन केन्द्र, वंशाणुगत नक्कल गरी तयार पारिएका अर्थात क्लोन गरिएका सुंगुरहरुको विश्वकै सबभन्दा ठूलो केन्द्र हो।

यहां प्रयोग गरिने प्रविधि नौलो होइन, तर त्यो प्रविधिको प्रयोग उच्चतम उत्पादनका लागि गरिएको कार्य भने नयां हो।

यो सुंगुरपालन केन्द्रको पहिलो खोरमा दुई लहर गरी नब्बेवटा जनावर छन्।

हेर्दा तिनीहरु एकदम सामान्य देखिन्छन्, जुन मानिसहरुको स्वाभाविक अपेक्षा हो तर ति हरेक सुंगुरको शरिरमा क्लोन गरिएको भ्रूण रहेको छ।

तस्वीर कपीराइट BBC World Service
Image caption सुंगुर क्लोन गर्ने प्रकृया

ति मध्य कतिपय स्वयं नै वंशाणु नक्कल गरी तयार पारिएका सुंगुरहरु छन्।

यो सुंगुरपालन केन्द्रले प्रति वर्ष ५०० वटा क्लोन गरिएका सुंगुर उत्पादन गर्छ: यसरी चीनले औद्योगित स्तरमा नै विज्ञानको प्रयोग गरिरहेको छ।

सुंगुरको खोर नजीकैको कोठमा रहेको शल्यक्रिया कक्षमा वंशाणु नक्कल गर्ने प्रकृया संचालन गरिन्छ।

एनेस्थेसियामा रहेको बेहोस पोथी सुंगुरलाई सास लिनका लागि अक्सीजन दिइन्छ।

त्यसपछि दुईजना प्राविधिकले फाइबर अप्टीकले बनेको नली पोथीको पाठेघरमा छिराउंछन्।

तेस्रोले फ्रीजमा रहेको टेस्ट ट्यूब निकाल्छन् जस्मा प्रयोगशालामा तयार पारिएको र प्रारम्भिक चरणका रहेको भ्रूण छ। उक्त ब्लास्टोसिस्ट भनिने भ्रूणलाई बेहोस पारिएको सुंगुरको पाठेघरमा प्रत्यारोपण गरिन्छ।

Image caption चीनको शेनजेन नगरमा "औद्योगिक स्तरमा" सुंगुर क्लोन गर्ने क्षमताको केन्द्र संचालनमा छ

उक्त टोलीले एक दिनमा दुई पटक यस्तो प्रकृया सम्पन्न गर्छ। र यस्को सफलता प्रतिशत झण्डै ७० देखि ८० प्रतिशतसम्म रहेको छ।

अर्को घरमा भर्खर जन्मेका सुंगुरका पाठाहरु आमाको दुध चुसिरहेका भेटिन्छन्। कोठा न्यानो पार्न विशेष प्रकारको बत्ती बालिएको छ।

यहां रहेका केहि जनावरहरु क्लोनहरुका पनि क्लोन हुन्। धेरैजसोमा त आनुवंशिक रुपमा सुधार पनि गरिएको छ।

यहांका सुंगुरहरुको प्रयोग नयां औषधिहरुको परिक्षणका लागि हुने गर्छ।

मानवसंग वंशाणुगत रुपमा धेरै नै नजीक भएकाले पनि सुंगुरहरु त्यस्ता परिक्षणका लागि उपयोगी “नमूना”हरु हुन्।

कम्पनीको मुख्यालयमा प्राविधिकहरुको लहर माइक्रोस्कोपहरुमा नियालीरहेका भेटिन्छन्।

यहां महंगा मेशिनहरुले गर्ने काम मानिसले नै गर्छन्। “हाते क्लोन” प्रकृया भनिने यो प्रकारको काम गराईले सबै प्रकृयालाई छिटो र सजीलो बनाउंछ।

यहांकी प्रमुख वैज्ञानिक डा. युताओ दु भन्छिन्, “ हामी ठूलो स्तरमा क्लोनिंग गर्न सक्षम छौं। यहां क्लोनींगको कारखाना नै स्थापन गर्न सकिने गरी तीस चालिसजना मानिसहरुले एकैसाथ काम गर्न सक्छौं।“

चीनको शेनजेनमा रहेको यो पूरानो जुत्ता कारखानामा अहिले उक्त उदाउंदो शक्ति राष्ट्रले नितान्त नयां उद्योग खडा गर्दैछ।

Image caption शेनजेनको कम्पनी संसारकै सबैभन्दा ठूलो क्लोनिंग केन्द्र हो

बीजीआइ सुंगुरहरुको क्लोन बनाउने संसारको सबैभन्दा ठूलो केन्द्र मात्र नभई वंशाणु विश्लेषण अथवा, जीन सिक्वेन्सींग गर्ने पनि संसारकै सबभन्दा ठूलो केन्द्र हो। जीव तथा बनस्पतिको वंशाणुसंग छेडछाड गर्ने कार्यलाई आलोचकहरु अप्राकृतिक र गैरनैतिक भन्ने गर्छन्। तर

बीजीआइका प्रमुख कार्यकारी वांग जुन भन्छन्, “ हामीले प्रकृतिलाई नै पछ्याइरहेका छौं। हाल धेरै मानिसहरुले भोक र प्रोटिन आपूर्तिको कमीका कारण ज्यान गुमाइरहेका छन्, हामी त्यो समस्यालाई समाधान गर्ने उपायहरुमा काम गर्दैछौं। “

चीन अहिले जुन बाटोमा अघि बढ्दैछ त्यसबाट उक्त देशले विज्ञानको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्ने देखिन्छ।

हाल चीनका एउटा यान्त्रीक वाहन चन्द्रमाको सतहमा गुडीरहेको छ, चीनमा नै संसारको सबैभन्दा तीब्र गतिमा चल्ने सुपरकम्प्युटर छ।

र बीजीआइ संस्थाले जीवशास्त्रको भविष्यमा ल्याउन सक्ने औद्योगिक स्तरको झलक दिएको छ।