मोबाइल फोन रेकर्ड संलकन सिमित गर्न ओबामाको निर्देशन

  • 18 जनवरी 2014
राष्ट्रपति बाराक ओबामा तस्वीर कपीराइट Reuters
Image caption राष्ट्रपति ओबामाले जरुरी कारण बाहेक संसारका अरु मानिसहरुको जासुसी नगर्न निर्देशन दिएका छन्

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले अमेरिकी गुप्तचर निकायहरुले स्वदेश र विदेशमा करोडौं मोबाइल फोनहरुको विवरण संकलन गर्ने अभ्यासलाई सिमित तुल्याउन निर्देशन दिएका छन्।

वाशिंगटनमा बोल्दै राष्ट्रपति ओबामाले जरुरी सुरक्षा कारण नभएसम्म अमेरिकाले आफ्नो साझेदार मुलुकहरुका नेता तथा जनताको निजी कुराकानीको जासुसी नगर्ने भनी आश्वस्त पार्ने प्रयास गरेका छन्।

उनले भने, "संसारका जुनसुकै देशका नागरिकहरुले पनि यदि तिनीहरुले हाम्रो राष्ट्रिय सुरक्षामा खतरा पुर्याउंदैनन् भने संयुक्त राज्य अमेरिकाले तिनीहरुमाथि जासुसी गर्दैन भनेर थाहा पाउनु पर्छ।"

नियन्त्रण

राष्ट्रपति ओबामाले नागरिक स्वतन्त्रताको सम्मान हुनुपर्छ भन्दै एकमुष्ट रुपमा मोबाइल फोन विवरणहरु संकलन गर्ने कार्यलाई नियन्त्रण गर्न भनेका छन्।

उनले त्यसरी प्राप्त डेटाको सहयोगले विगतमा स्वदेश र विदेशमा आंतकवादी हमलाहरु रोक्न सघाउ पुगेको बताउंदै, त्यस्ता जोखिमहरुसंग जुध्ने क्रममा सरकारको गतिविधिले अलि चर्को रुप लिन पुगेको जनाए।

राष्ट्रपतिको घोषणा, अमेरिकी गुप्तचर निगरानी कार्यको पूर्ण स्तरको जानकारी बाहिर आएपछि व्यक्त व्यापक आक्रोशका माझ आएको छ।

भूतपूर्व अमेरिकी गुप्तचर कर्मचारी एडवर्ड स्नोडनले सार्वजनिक गरिदिएको दस्तावेजहरुबाट, अमेरिकाले संसारभरीका सर्वसाधारण व्यक्तिहरुको निजी मोबाइल फोन कुराकानीबाट विद्युतीय डेटा संकलन गर्नुका साथै विदेशी नेताहरुको पनि जासुसी गर्ने गरेको खुलासा भएको थियो।

ब्रिटेनको द गार्डियन समाचार पत्र र च्यानल फोर न्युजमा आएको पछिल्लो विवरणहरु अनुसार, अमेरिकी गुप्तचर निकायहरुले हरेक दिन संसार भरीबाट बीस करोड एसएमएस सन्देशहरु संकलन र भण्डारण गर्ने गरेका छन्।

भाषण

न्याय मन्त्रालयमा दिइएको बहुप्रतिक्षित भाषणमा राष्ट्रपति ओबामाले अमेरिकी गुप्तचर गतिविधिको प्रभावकारीताका लागि कसैसंग क्षमा नमाग्ने र उनी आफूले जे जति देखेका छन् त्यसबाट कानून उलंघन गर्न खोजीएको नदेखिएको बताएका छन्।

उनले ठूलो परिमाणमा डेटा संकलन गर्नु अमेरिकाको निम्ति जरुरी रहेको बताउंदै, तर त्यसक्रममा दुरुपयोगको सम्भावना पनि रहेको स्वीकारेका छन्। उनले आफूले प्रस्ताव गरेको सुधारका कार्यक्रमले आफ्ना अधिकारहरु सुरक्षित रहेको भन्नेमा अमेरिकी जनतामाझ आत्मविश्वास बढ्ने बताएका छन्।

नागरिक अधिकारवादी समूहहरुले राष्ट्रपतिले गरेका परिवर्तन पर्याप्त नभएको बताएका छन्।

वाशिंगटनस्थित बीबीसीका एकजना सम्बाददाता भन्छन्, संयुक्त राज्य अमेरिकाले अझै पनि ठूलो मात्रामा टेलिफोन डेटा आफ्नो साथमा राखेको र त्यस्तो डेटालाई के गरिन्छ भन्ने स्पष्ट नभएकोमा नागरिक अधिकारवादी समुहहरुले चिन्ता व्यक्त गरिरहेका छन्।