अध्यक्ष पद छोड्दिनँ: प्रचण्ड

  • 19 जनवरी 2014
तस्वीर कपीराइट AFP
Image caption प्रचण्डको पछिल्लो अभिव्यक्तिले जारी केन्द्रीय समिति बैठकमा उनलाई थप आलोचित बनाउने देखिन्छ

एकीकृत माओवादी अध्यक्ष प्रचण्डले अहिले पार्टी नेतृत्व हस्तान्तरण नहुने बताएका छन्।

काठमाण्डौमा जारी पार्टीको केन्द्रिय समिति बैठकमा पूर्व उपाध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले नेतृत्व हस्तान्तरणको विषयलाई चर्को रुपमा उठाइरहेका बेला बिराटनगरमा प्रचण्डले त्यसलाइ अस्वीकार गरेका हुन्।

संविधानसभा निर्वाचनमा भएको पार्टीको पराजयसंगै पूर्व उपाध्यक्षद्वय डा. बाबुराम भट्टराइ र नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले नेतृत्वको भूमिकाका विषयमा आलोचना गर्दै आएका थिए ।

आत्मसमीक्षा

निर्वाचनमा पार्टीको अनपेक्षित प्रदर्शनको जिम्मेवारी कसले लिने भन्ने विवादको आगो नेतृत्व तहदेखि कतिपय जिल्ला तहसम्म फैलिएको छ।

संविधानसभामा पार्टीको तर्फबाट समानुपातिक सभासद छनौट प्रकृयाका क्रममा पार्टी भित्र बढेको विवादले नेतृत्व परिवर्तन सम्मको कुरा उठिरहेका बेला प्रचण्डले आइतबार बिराटनगरमा सञ्चारकर्मीहरुसंग बोल्दै त्यसलाइ अस्वीकार गर्ने बताए ।

उनले भने, "यस्तो अप्ठ्यारो स्थितिमा हस्तान्तरण गर्ने भनेको झन् पार्टी डुबाउने कुरा हो, सबैले आत्मसमीक्षा गर्नुपर्छ।"

अप्ठयारो अवस्थामा नेतृत्व परिवर्तनको कुराले पार्टीलाई झन कमजोर बनाउने उनको भनाइ थियो ।

जिम्मेवारी

चुनाव हारेपछि नैतिक संकटको कुरा पनि उठिरहेको छ नि भन्ने प्रसंगमा प्रचण्डले भने, "कम्युनिस्ट आन्दोलन समग्रमा एउटा युद्ध हो भने चुनावको मोर्चा एउटा लडाई हो त्यसैले एउटा लडाई हार्दैमा युद्ध हारेको मानिँदैन। त्यसैले अप्ठेरोमा परेको बेला अझै बढी जिम्मेवारी लिनुपर्छ, हाम्रो पार्टी बुर्जुवाजस्तो नैतिकताको पछि लाग्दैन।"

पार्टीको जारी केन्द्रिय समितिको बैठकमा चुनावमा भएको पराजय र भावी कार्यदिशा लगायतका विषयमा नेतृत्वको चर्को आलोचना र विवादका समाचारहरु बाहिर आइरहँदा बैठकले पार्टीलाई अझ मजबुत बनाएर अगाडि बढाउन मदत पुरयाउने विश्वास प्रचण्डले ब्यक्त गरे।

उनले भने, "गम्भीर छलफलमा लागेका छौं अन्तिम सम्म पुग्दा यसले पार्टीलाई एक ढिक्का बनाउँछ।"

उनले आफनो पार्टी सरकार गठनमा भन्दा पनि संविधान निर्माणको दिशामा अघि बढने बताए।