सिरियाले संस्थागत रूपमा यातना दिएको आरोप

  • 21 जनवरी 2014
तस्वीर कपीराइट AP
Image caption सिरियामा द्वन्द्वका कारण एक लाख भन्दा बढीको ज्यान गइसकेको छ र दशौं लाख विस्थापित भएका छन्

सिरियामा विद्रोह शुरू भएयता नियन्त्रणमा राखिएका झन्डै ११,००० जनालाई सरकारले यातना दिइ मारेको भरपर्दो प्रमाण आफूहरूले देखेको युद्ध अपराध सम्बन्धि तीन पूर्व अभियोक्ताहरूले बताएका छन्।

ति तीन अभियोक्ताहरूले आफूहरूले तयार पारेका एक प्रतिवेदनमा त्यस्तो भनाइ राखेका छन्।

उनीहरूले सरकारपक्षका एक मानिसले लुकाएर सिरिया बाहिर ल्याएका भनिएको मृत बन्दीहरुका तस्वीरहरूको अध्ययन गरेर सो प्रतिवेदन तयार पारेका बताइएको छ।

ती मानिस सेनाका एक फोटोग्राफर भएका र उनले सिरियाली सरकारको पक्ष त्याग गर्दै झन्डै ५५,००० डिजिटल तस्वीरहरु लुकाएर देश बाहिर ल्याएका जनाइएको छ।

प्रतिवेदनमा 'सेजर' नाम दिइएको ति मानिसले मृत्युदण्डको प्रमाणपत्र दिन र मृत्युदण्ड दिइएको भन्ने पुष्टी गर्न उनलाई तस्वीर खिच्न लगाइएको अनुसन्धानकर्ताहरूलाई बताएका छन्।

“एक दिनमा ५० वटासम्म शवहरूको तस्वीर लिनु पर्थ्यो र प्रत्येक शवको तस्वीर लिन आधा घन्टासम्म लाग्थयो,” उनलाई उद्धृत गरी प्रतिवेदनमा भनिएको छ।

'आफैंले नदेखेको'

तर ति मानिसले यातना वा मृत्युदण्ड दिइएका घटनाहरू आफैले भने नदेखेको बताए।

उक्त प्रतिवेदन तयार पारेका तीन अनुसन्धानकर्ताहरू मध्येका एकले त्यसरी बन्दीहरूलाई यातना दिने र मार्ने काममा सरकारको संलग्नता रहेको पाइएको बताएका छन्।

सिरियाली सरकारले सो प्रतिवेदनमाथि प्रतिक्रिया जनाको छैन।

तर ३४ महिनादेखि चल्दै आएको द्वन्द्वमा मानव अधिकारको उल्लंघन भएको भन्ने आरोपको उसले खण्डन गर्दै आएको छ।

सो प्रतिवेदन स्विट्जरल्यान्डमा सिरियाबारे शान्तिवार्ता शुरू हुन एक दिनअघि आएको छ।

'जेनेभा दोस्रो' नाम दिइएको सो वार्तालाई सिरियाको तीन वर्ष ‌पुरानो द्वन्द्वको अन्त्य गर्न अहिलेसम्मको सबैभन्दा ठूलो कुटनीतिक पहलका रूपमा हेरिएको छ।

सो द्वन्द्वका कारण एक लाख भन्दा बढी मानिसको ज्यान गइसकेको छ भने दशौं लाख विस्थापित भएका छन्।