डाक्टर केसीले अनशन तोडे

  • 24 जनवरी 2014

दुईहप्ता देखि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डाक्टर गोविन्द केसीले आफ्ना माग सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएपछि शुक्रबार बिहान अनशन तोडेका छन्।

Image caption डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यवद्धता जनाउदै चिकित्सकहरु अस्पताल ठप्प पारेर आन्दोलनमा छन्

वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्ने, एउटै छाता चिकित्साशास्त्र विश्वविद्यालय गठनका लागि अध्ययन गर्न बनेको कार्यदलले तीन महिनाभित्र आफ्नो सिफारिश बुझाउने तथा राष्ट्रिय नीति नबनाइ अब कुनै पनि निकायले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नपाउने माग पूरा गर्न सरकार राजी भएपछि अनशन तोडिएको डा केसीका सहयोगी चिकित्सक सुवर्ण अधिकारीले बीबीसीलाई बताए।

ती माग पूरा गर्ने सहमतिपत्रमा डा केसी सरकारी वार्ता टोली संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बांस्कोटा र नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष अञ्जनी झाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

सरकारले डाक्टर केसी र चिकित्सक संघ दुवैका माग सम्बोधन गर्न बिहीबार बांस्कोटाको संयोजकत्वमा वार्ताटोली गठन गरेको थियो।

सेवा सञ्चालन

डा केसीको समर्थनमा बहिरंग सेवा बन्द गरेका चिकित्सकहरु अब सहमतिपछि आआफ्नो काम फर्कने बताइएको छ।

चिकित्साशास्त्र अध्ययन संस्थानका नयाँ डिनको राजीनामा, संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने, नयाँ मेडिकल कलेजलाई जथाभावी सम्बन्धन दिन नहुने लगायतका माग राख्दै डाक्टर केसी अनशन बसेका थिए।

यसअघि सरकारी वार्ता टोलीले बिहीबार बेलुका डा केसीसंग वार्ता गरेको थियो।

उक्त वार्ता सकरात्मक मोडमा पुगेपछि शुक्रबार बिहान त्यसलाई औपचारिकता दिइएको थियो।

डाक्टर केसीको मागमा ऐक्यबद्घता जनाउदैँ नेपाल चिकित्सक संघ पनि अस्पतालहरु ठप्प पारेर आन्दोलनमा थिए।

वरिष्ठता

सहमतिले नयां डिनको नियुक्ति वरिष्ठताका आधारमा गर्न बाटो खोलेको छ।

त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरुले वरिष्ठता मिचिए डिनमा नियुक्त नहुने छुट्टै प्रतिवद्धतापत्र समेत जारी गरेको डा सुवर्ण अधिकारीले बताए।

हालसालै राजीनामा दिएका डा प्रकाश सायमीको डिनमा पुनर्वहालीको माग राखेका डा केसी पछि वरिष्ठताको आधारमा नियुक्ति गर्ने विषयमा सहमत भएका थिए।

डा केसीकै मागका आधारमा यसअघि त्रिभुवन विश्वविद्यालयले नवनियुक्त डिन शशी शर्मालाई बर्खास्त गरेको थियो।