दक्षिण सुडान सरकार-विद्रोहीबीच सम्झौता

  • 24 जनवरी 2014

दक्षिण सुडानको सरकार र विद्रोहीहरुले हिंसा अन्त्य गर्नेसम्बन्धी शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।

तस्वीर कपीराइट Getty
Image caption दक्षिण सुडानको हिंसामा हजारौंको ज्यान गएको र लाखौं विस्थापित भएको ठानिएको छ

इथियोपियाको राजधानी अदिस अबाबामा भएको उक्त सम्झौताले गत महिनायता दक्षिण सुडानमा जारी जातीय हिंसामा विराम लगाउन मार्गप्रशस्त हुनेछ।

शान्ति

हिरासतमा रहेका विद्रोहीहरुका नेताको रिहाइका लागि बाटो खोल्ने प्रारम्भिक विवरणहरुमा बताइएको छ।

सम्झौता पालना भएको नभएको अनुगमन गर्ने एउटा संयन्त्र बनाउने सहमति पनि भएको छ।

उक्त सम्झौता आइग्याड भनिने अफ्रिकाको क्षेत्रीय संगठनको मध्यस्थतता भएको थियो।

सम्झौतालगत्तै विद्रोहीहरुका प्रमुख वार्ताकार तबान देंगले हिंसा त्याग्ने घोषणा गरे।

उनले भने, "हामी यो अवसरमा विद्रोहीहरुलाई यो क्षेत्रको आवाज सुन्न र हिंसात्मक राजनीतिको बाटो त्याग्न आव्हान गर्छौं।"

आशंका

तथापि विद्रोहीहरुको त्यस्तो आव्हान सबै मिलिसियाले मान्नेमा सरकारले भने आशंका व्यक्त गरेको छ।

तर अन्तर्राष्ट्रिय समुदायले उक्त सम्झौताको स्वागत गरेका छन्।

अमेरिका, ब्रिटेन र राष्ट्रसंघले सम्झौताप्रति खुशी व्यक्त गर्दै त्यसको कार्यान्वयनमा जोड दिएका छन्।

गत महिनायता राष्ट्रपति साल्भा किर र उनका पूर्व सहयोगी एवम् विद्रोही नेता रियक मचारका समर्थकहरुबीच भडकिएको जातीय हिंसामा हजारौं जनाको ज्यान गएको ठानिएको छ।