कांग्रेसमा सहमतिको प्रयास 'तीव्र'

  • 25 जनवरी 2014
Image caption कांग्रेस सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवामाथि सहमति गर्न चर्को दबाब रहेको बताइएको छ

नेपाली कांग्रेसमा संसदीय दलको नेताका दाबेदार अब दुईजना मात्र देखिएका छन्।

अर्का दाबेदार उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइरालालाई समर्थन गर्दै चुनावी मैदानबाट पछि हटेका छन्।

कांग्रेसका दोस्रो पुस्ताका नेताहरुले भने अन्तिम समयसम्म सहमतिमार्फत दलका नेता छनौट गर्ने प्रयास जारी राख्ने बताएका छन्।

नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरु डा रामशरण महत, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खडका, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ लगायतका नेताहरु सहमतिका लागि छलफलमा जुटेका हुन्।

सहमति

छलफलमा संलग्न नेताहरुकाअनुसार, संसदीय दलको नेता सहमतिबाट चयन गर्न पार्टी सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दुवै सकारात्मक देखिएका छन्।

नेता डा. महतले निर्वाचनको अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने बताए।

उनले भने, ''कुराकानी नगरि कुनै निकास निस्किन्न, सहमति जुट्छ कि भनेर हामी प्रयासरत छौं।''

आइतबार बिहान साढे आठ बजे मतदान तय गरिएको संसदीय दलको नेताका लागि सभापति कोइराला र वरिष्ठ नेता दे‌उवाले उम्मेद्वारी दिएका छन्।

आफूलाई प्रत्यासीका रुपमा प्रस्तुत गर्दै आएका पार्टी उपसभापति पौडेलले भने उम्मेद्वारी दिएनन्।

उनले भने, ''पार्टी सभापतिले संविधान नबनुञ्जेल एक वर्षका लागि सरकारको नेतृत्व गर्ने र मैले पार्टी संचालन गर्ने सहमति भएको छ।''

उम्मेद्वारी

दोस्रो पुस्ताका नेताहरुबीच छलफल जारी रहँदा पार्टी प्रवक्ता दिलेन्द्र बडु संयोजकत्वको तीन सदस्यीय निर्वाचन समितिले उम्मेद्वारी फिर्ता लिने समय शनिबार साँझ पाँच बजेबाट बढाएर राति १० बजे पुर्‍याएको छ।

उनले भने, ''नेताहरु सहमतिका लागि प्रयासरत रहेकाले समयको सुविधा दिनुपर्छ भनेर हामीले उम्मेद्वारी फिर्ता लिने समय बढाईदिएका हौं।''

सभापति कोइराला र वरिष्ठ नेता देउवा पक्षबीच सहमति नभए चुनावका लागि निर्वाचन आयोगले उपलब्ध गराउने विद्युतीय मेसिनको प्रयोग गरि मतदान गरिने सो पार्टीले जनाएको छ।

संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलकै नेता प्रधानमन्त्री हुने सम्भावना प्रबल रहेकोले नेता चयनका लागि जारी वार्ता र निर्वाचन प्रक्रियालाई चासोपूर्वक हेरिएको छ।