संसदको पहिलो बैठक आज

  • 26 जनवरी 2014
ca तस्वीर कपीराइट Surendra Phuyal
Image caption चार वर्षका लागि निर्वाचित संविधानसभाले संसदको भूमिकासमेत निर्वाह गर्छ

देश जनप्रतिनिधिमुलक निकायबाट सञ्चालन नभएको झण्डै बीस महिनापछि व्यवस्थापिका संसदले आइतवारबाट आफ्नो काम सुरु गर्दैछ।

दोस्रो संविधानसभा चुनाव भएको दुई महिनापछि संसदको अधिवेशन सुरु हुन लागेको हो।

यसै अधिवेशनबाट नयाँ सरकार निर्माण गर्ने देखि संसद नहुदाँ ल्याइएका कतिपय अध्यादेशहरु पारित गरिने संसद सचिवालयले जनाएको छ।

कार्यसूचि

शहीदहरु प्रति श्रद्धाञ्जली दिएर दिउँसो तीन बजे शुरु हुने संसदको पहिलो बैठकमा राष्ट्रपतिले अधिवेशन आव्हान गरेको पत्र पढेर सुनाउने कार्यसूचि छ।

दोस्रो संविधानसभा चुनाव गराउन अघिल्लो वर्ष प्रधानन्यायधीश नेतृत्वमा सरकार बनाउँदा जारी गरिएको बाधा अडकाउ फुकाउ आदेश अनुमोदन गराउने प्रकिया पनि पहिलो बैठकबाट शुरु हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

“नेपाल सरकारको तर्फबाट बाधा अडकाउ सम्बन्धी आदेश प्रस्तुत गर्ने, अर्को व्यवस्था नभएसम्म विद्यमान नियमावली अनुसार नै कार्यसञ्चालन गर्ने र संसदमा रहेका सबै दलका एक-एक जनाले मन्तव्य दिने कार्यक्रम पहिलो बैठकका लागि तय भएको छ,” उनले भने।

संसदको पहिलो बैठक बसेको एक महिना भित्र सो बाधा अडकाउ फुकाउ आदेश अनुमोदन गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

पहिलो संविधानसभा विघटन भएपछि सरकारले जारी गरेका दुई दर्जन अध्यादेशहरु संसदको आगामी बैठकहरुमा अनुमोदनका लागि संसदमा प्रस्तुत गरिने प्रवक्ता शर्माले बताए।

नयां सरकार

संसदको अधिवेशन नबस्दा नयाँ सरकार बनाउने प्रकृया समेत सुरु हुन सकेको थिएन्।

अधिवेशनको सुरुवातसँगै अब राष्ट्रपतिले सहमतिको सरकार बनाउन दलहरुलाई आव्हान गर्ने छन् र सहमतिको सरकार बनाउन दलहरु असफल भए बहुमतका आधारमा संसदबाट प्रधानमन्त्री चुन्नु पर्नेछ।

प्रधानमन्त्रीको चयन र नयाँ सरकार गठनसँगै अहिले पूर्व प्रशासकहरुबाट सञ्चालन हुदैँ आएको सरकारको विधिवत बिदाइ हुनेछ।