युक्रेनमा ‌संकटकाल लगाउने चेतावनी

  • 27 जनवरी 2014
न्याय मन्त्रालय कब्जा गर्दे प्रदर्शनकारीहरु तस्वीर कपीराइट Reuters
Image caption प्रदर्शनकारीहरुले न्याय मन्त्रालय छाडने कुनै संकेत देखाएका छैनन्

युक्रेनकी न्याय मन्त्री ओलेना लुकाश यदि सरकार विरोधी प्रदर्शनकारीहरुले राजधानी कियभस्थित मन्त्रालय भवन खाली नगर्ने हो भने आफुले देशमा संकटकाल लगाउन सिफारिश गर्ने बताएकी छिन्।

ओलेना लुकाशले भनिन्, "म वर्तमान समस्याको समाधान गर्न गठन गरिएको कार्यदलकी एक सदस्य हुँ। र, यदि न्याय मन्त्रालयलाई तत्काल खाली गरिएन भने म राष्ट्रपति समक्ष वार्ता रोक्न आह्वान गर्न वाध्य हुनेछु।"

तर मन्त्री लुकाशले कुनै समयसीमा भने तोकेकी छैनन्।

प्रदर्शनकारीहरुले आइतबार राती न्याय मन्त्रालयमा कब्जा जमाएका थिए र बोराहरुमा हिउँ भरेर बाटोमा अवरोध खडा गरेका थिए।

संकेत

कियभस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, प्रदर्शनकारीहरुले मन्त्रीको चेतावनी सुनेर मन्त्रालय छाडन लागेको अझै कुनै संकेत छैन।

प्रदर्शनकारीहरुले युक्रेनका कम्तीमा दशवटा शहरहरुका स्थानीय प्रशासकीय भवनहरुमा कब्जा जमाएको बताइएको छ।

राष्ट्रपति भिक्टर यानुकोविचको पकड क्षेत्र मानिने दक्षिण पूर्वी युक्रेनमा हिंस्रक भीडन्तहरु भएका छन्।

जापोरिझियामा स्थानीय सरकारी भवनमा कब्जा जमाउन खोज्ने प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्याँस र धुवाँ फ्याँक्ने ग्रिनेडहरु प्रहार गरेका थिए।

राष्ट्रपति याकुनोविचले गत वर्ष नोभेम्बर महिनामा युरोपेली संघसंग लामो समयदेखि प्रतीक्षा गरिएको खुला व्यापार सन्धिमा हस्ताक्षर नगर्ने बताएपछि संकट शुरु भएको थियो।

प्रदर्शनकारीहरुले न्याय मन्त्रालय कब्जा गरेर आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको देखिन्छ।

कब्जा

आफ्नेा नाम ओलेग बताउने प्रदर्शनकारीहरुका एकजना नेताले भने, बाहिर सडकको ठिहिराउने जाडोमा उभिएका प्रदर्शनकारीहरुले आश्रय लिन सकुन् भनेर मन्त्रालय भवन कब्जामा लिइएको हो।

एएफपि समाचार संस्थासंग कुरा गर्दै ओलेगले भने, “ हामी हुलदङ्गा गर्दैनौं। हामी शान्तिप्रेमी मानिसहरु हौं। हामी न्याय चाहन्छौं। ”

युक्रेनी संसदको आकस्मिक बैठक भोलि मंगलबार बस्दैछ। तर संसदका सभामुखले यस अघि संकटकाल घोषणा गर्ने विषयमा भने त्यहाँ छलफल नगरिने बताएका थिए।

सरकारले गत साता सार्वजनिक स्थानहरुमा पाल टाँग्न तथा हेल्मेट एवम् मुख छोप्ने कपडा लाएर हिँडन नपाइने नयाँ कानुन ल्याएपछि प्रदर्शनकारीहरु थप क्रुद्ध बनेका थिए।

माग

विपक्षीहरुले युरोपेली संघसंग खुला व्यापार संझौतामा हस्ताक्षर गरिनुपर्ने, भूतपूर्व प्रधानमन्त्री युलिया तिमाशेन्को लगायतका बन्दीहरुलाई रिहा गर्नुपर्ने र नयाँ कानुनहरु हटाउनु पर्ने माग गरिरहेका छन्।

यसअघि विपक्षी नेता आर्सेनी यात्सेन्युकले आफ्ना मुख्य मागहरु पुरा नभएको भन्दै उनलाई प्रधानमन्त्री बनाउन राष्ट्पतिले राखेको प्रस्ताव अस्वीकार गरीदिएका थिए।

‘युरो मैदान’ नाम दिईएको विरोध आन्दोलन सामान्यत: शान्त रहे पनि कही उग्र प्रदर्शनकारीहरु तथा प्रहरीबीच इन्डिपेनेडेन्स स्क्वायरस्थित मुख्य प्रदर्शनस्थल भन्दा टाढा भीडन्तहरु भएका छन्।

अहिले विरोध देशभरि फैलिएको छ र मुख्य शहरहरुमा पनि सरकार विरोधी प्रदर्शनहरु भैरहेका छन्।