‘फागुन पहिलो सातासम्म एकीकरण’

  • 28 जनवरी 2014
upendra तस्वीर कपीराइट upendra yadav facebook
Image caption मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतको मधेशी मोर्चा टुटिसकेको बताएका छन्

तराई केन्द्रित तीन दलका नेताहरुले माघ अन्तिम वा फागुनको पहिलो साताभित्र पार्टी एकीकरणको घोषणा गर्ने बताएका छन्।

पार्टी एकीकरणका लागि तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो सम्बन्धी मस्यौदा मंगलबार अध्यक्षहरुसहितको बैठकमा पेश गर्ने जनाएको छ।

तराई मधेश लोकतान्त्रिक पार्टी,मधेशी जनाधिकार फोरम र सद्भावना पार्टीबीच एकीकरण भए, एकीकृत पार्टी संविधानसभाको चौथो ठूलो शक्ति हुनेछ।

प्रतिवेदन

पार्टी एकीकरणबारे प्रतिवेदन तयार पार्न गठित १५ सदस्यीय कार्यदलले आठ पटक बैठक गरिसकेको छ।

उक्त कार्यदललाई एकीकृत पार्टीको सांगठनिक संरचना,विधान तथा झण्डा लगायतका विषयमा सहमति गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।

ती विषयमा कार्यदलले गरेको सहमतिबारे सद्भावना पार्टीका महासचिव एवं कार्यदलका सदस्य मनिष सुमन भन्छन्, “मंगलबार अध्यक्षसहितको बैठक बोलाइएको छ। यसमा एकताका लागि साझा दस्तावेज सार्वजनिक गर्न सक्छौं।"

कार्यदलका सदस्यहरुकाअनुसार,एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुर र कार्यवाहक अध्यक्षहरु उपेन्द्र यादव र राजेन्द्र महतो हुने लगभग पक्कापक्की छ। कार्यदलले जुटाएको सहमतिलाई तीन दलकै केन्द्रीय समितिहरुले अनुमोदन गर्नुपर्ने हुन्छ।

'दाउ'

यसअघि तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनाधिकार फोरमबीच एकीकरणको प्रयास भए पनि पार्टीको नेतृत्व र शक्ति बाँडफाडबारे कुरा नमिल्दा उक्त प्रयास विफल भएको थियो।

मधेश आन्दोलनताका औलामा गन्न सकिने संख्यामा रहेका तराई केन्द्रित दलहरु त्यसपछि पटक-पटक भएका फुटकै कारण एक दर्जनभन्दा बढी पुगेको धेरैको आरोप छ।

दोस्रो संविधानसभामा पहिलाको भन्दा निकै कमजोर स्थितिमा पुगेपछि एकीकरणका लागि तराई केन्द्रित दलका नेताहरु तातेको भन्नेहरुको पनि कमी छैन।

यद्यपि एकीकरणका लागि तारतम्य मिलाईरहेका ती दलका नेताहरु भन्ने त्यो मात्र कारण नभएको बताउँछन्।

तराई मधेश लोकतान्त्रिक पार्टीका सह महामन्त्री जितेन्द्र सोनल भन्छन्, "एकीकरणपछि यो संविधानसभा र व्यवस्थापिक संसदमा स्वाभाविक रुपमा चौथो शक्तिका रुपमा स्थापित हुनु स्वाभाविक हो तर मूलभूत कुरा मधेशी एजेण्डा हुन्।"

शक्ति

संविधानसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका ११ जना, मधेशी जनाधिकार फोरमका १० जना र सद्भावना पार्टीका ६ जना गरि २७ सभासद् छन्।

उनीहरुबीच एकीकरण भए एकीकृत पार्टीले संविधानसभामा अहिले २४ सीटसहित चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई उछिन्ने छ।

तराई केन्द्रित दलहरुबीच एकीकरण हुनुभन्दा एकीकृत पार्टीलाई निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौती भएको विश्लेषकहरुको बताउँछन्।