युक्रेनमा विरोध प्रदर्शन रोक्ने कानुन रद्द गर्न सहमति

  • 28 जनवरी 2014
युक्रेनमा विरोध प्रदर्शन
Image caption आममाफीका लागि पहिले सडकहरुका अवरोध र सरकारी भवनहरु खाली गर्नु पर्ने सर्त सरकारको छ

युक्रेनका राष्ट्रपति भिक्तोर यानुकोभिचले राजधानी कियभमा विपक्षी नेताहरुसंगको वार्तापछि, विरोध प्रदर्शनहरु विरुद्ध ल्याइएको नयां विवादास्पद कानुनलाई रद्द गर्न सहमति जनाएका छन्।

त्यस्तो कानुन ल्याइएपछि युक्रेनमा झण्डै दुई महिनादेखि जारी समान्यतया शान्तिपूर्ण सरकार विरोधी प्रदर्शनहरु, पछिल्लो एकहप्ता देखि हिंसात्मक बन्न पुगेका थिए।

पक्राउ परेका प्रदर्शनकारीहरुलाई आममाफी दिने सहमति पनि भएको छ तर त्यसका लागि विरोध प्रदर्शनकारीहरुले तिनीहरुले कब्जामा लिएका सरकारी भवनहरु छाड्नुका साथै सडकहरुबाट अवरोधहरु पनि हटाउनु पर्नेछ।

सहमति

न्यायमन्त्री ओलेना लुकाशले पत्रकारहरुलाई त्यस्तो सहमतिका बारे जानकारी दिंदै भनिन्, “यि वार्ताहरुको नतिजामा आधारित भएर, आममाफी सम्बन्धी युक्रेनको कानुनको पक्षमा संसदमा मतदान गर्ने बारे दुवैपक्षबीच सैद्धान्तिक सहमति भएको छ।

"कब्जामा लिइएका सबै भवनहरु खाली गर्ने र सडकहरु खुला गर्ने कार्यपछि मात्रै त्यस्तो आममाफीको प्रावधान लागु हुनेछ। अन्यथा कसुरवारहरुलाई माफी दिइने छैन।“

विरोध प्रदर्शनहरु विरुद्धको कानून रद्द गरिने घोषणा राष्ट्रपति यानुकोभिचको वेबसाइट मार्फत गरिएको थियो।

त्यस्तो कानुन फिर्ता लिने बारेको प्रस्तावमा मंगलबार संसदमा मतदान हुने कार्यक्रम छ।

संसदमा राष्ट्रपति यानुकोभिचको पार्टीको बहुमत छ, तर सांसदले कानून फिर्ता लिने पक्षमा मतदान गर्छन् की गर्दैनन् भन्ने चाहिं स्पष्ट छैन।

राष्ट्रपति र विपक्षका तीनजना नेताहरुबीच, विरोध प्रदर्शनका क्रममा पक्राउ परेका प्रदर्शनकारीहरुलाई आममाफी दिने विषयमा पनि सहमति भएको छ।

शर्त

तर त्यस्तो आममाफीको प्रावधान लागु हुनु अघि प्रदर्शनकारीहरुले राजधानी कियभको मध्यभागमा खडा गरेका अवरोधहरु हटाउनु पर्नेछ र तिनीहरुले कब्जामा लिएका सरकारी भवनहरु खाली गर्नु पर्नेछ।

युक्रेनमा दुई महिना देखि जारी सरकार विरोधी प्रदर्शनहरुले एक हप्ता अघि देखि हिंसात्मक रुप लिएर देशभरी फैलिन थालेपछि, सरकार र विपक्षी नेताहरुबीच वार्ता भएको थियो।

वार्ताका क्रममा राष्ट्रपति यानुकोभिचले एकजना विपक्षी नेतालाई प्रधानमन्त्री पद स्वीकार गर्नका लागि पुन: आग्रह गरेका थिए, जस्लाई ति नेताले औपचारिक रुपमा नै अस्वीकार गरेका थिए।

विरोध प्रदर्शनकारीहरुले राजधानी कियभको मध्ये भागमा रहेको चोक र देशका विभिन्न सहरहरुमा रहेका सरकारी भवनहरुलाई आफ्नो कब्जामा लिइरहेका छन् र राष्ट्रपति भिक्तोर यानुकोभिचले राजीनामा नदिएसम्म आफूहरु त्यहांबाट नहट्ने बताइरहेका छन्।