आय असमानता घटाउन ओबामाको जोड

  • 29 जनवरी 2014
राष्ट्रपति ओबामा Image copyright AFP
Image caption राष्ट्रपति ओबामाले सबै अमेरिकीहरुलाई अवसरको समानता दिलाउन आफुले काम गर्ने बताएका छन्

देशवासीका नाममा आफ्नो वार्षिक संबोधनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले संयुक्त राज्य अमेरिकामा गरीब तथा धनीबीचको अन्तर कम गर्नुपर्ने तथा आर्थिक बृद्धि बढाउनु पर्ने कुरामा जोड दिएका छन्।

सन् २०१४ लाई काम गर्ने बर्ष बनाउने वाचा गर्दै ओबामाले भने, "तपाईंहरुको प्रयासको परिणाम यसप्रकार छ। पाँच बर्षभन्दा बढी समयमा सबैभन्दा कम बेरोजगारी दर। घरजग्गा कारोबारमा वृद्धि। सन् १९९० को दशक यता पहिलो पटक उत्पादन क्षेत्रले रोजगारी सिर्जना गरिरहेको छ र बाँकी विश्वबाट किन्ने भन्दा बढी तेल हामीले देशभित्रै उत्पादन गरिरहेका छौं।"

'अवसरमा समानता'

राष्ट्रपति ओबामाले संभवभएसम्म आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर भएपनि नयाँ संझौता अन्तर्गत कार्यरत संघीय कर्मचारीहरुको न्यूनतम ज्याला बढाउने लगायत सबै अमेरिकीहरुलाई अवसरको समानता उपलब्ध गराउन काम गर्ने बताए।

आफ्नो संबोधनमा उनले हालै म्याद पुरा भएको झण्डै सोह्र लाख मानिसहरुको बेरोजगार बीमा फेरि शुरु गर्न सहमति जनाउन अमेरिकी कँग्रेसलाई आह्वान गरे।

त्यस्तै उनको पहिलो कार्यकालको एउटा प्रमुख उपलब्धि ठानिएको स्वास्थ्य सेवा योजनालाई उल्टाउने प्रयास नगर्न उनले विपक्षी रिपब्लिकनहरुलाई आग्रह गरे।

विदेश नीतिबारे बोल्दै राष्ट्पति ओबामाले दबाबमूलक अमेरिकी कूटनीतिका कारण इरानको आणविक कार्यक्रम रोकिएको बताए।

अमेरिकी गुप्तचर संस्थाहरुले विदेशी जनता तथा नेताहरुको फोन कुराकानी अनधिकृत रुपमा सुन्ने गरेको भन्ने आरोपबारे बोल्दै उनले भने, "यो विषयप्रति मानिसहरुको चासो, जुन स्वाभाविक पनि छ, त्यसलाई ध्यानमा राख्दै मैले हाम्रो गुप्तचर समुदायलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट अत्यावश्यक नहुँदासम्म हाम्रा मित्र तथा सहयोगी मुलुकहरुका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुको कुराकानी अनुगमन नगर्न भनेको छु।"

आलोचना

गत बर्ष जर्मन चान्सलर एङ्गेला मर्केल लगायत लाखौं युरोपेली जनताको मोबाइल फोन कुराकानी अमेरिकी गुप्तचर संस्थाहरुले अनधिकृतरुपमा सुनेको भन्ने समाचार आएपछि अमेरिकाको कडा आलोचना भएको थियो।

सन् २०१४ मा ग्वान्टानामोस्थित जेल बन्द गरिने बताउँदै राष्ट्रपति ओबामाले यमन, सोमालिया, इराक तथा माली लगायतका मुलुकहरुमा रहेको अल कायदा तथा संबद्ध सन्जालसंग लडने आफ्नो प्रतिबद्धता दोहोराए।

तर उनले कूटनीतिमा जोड दिँदै आफ्नो मुलुक एउटा स्थायी युद्धको मानसिकताबाट बाहिर निस्कनै पर्ने पनि बताए।

हाम्री संवाददाता केटी के भन्छिन्, दोश्रो कार्यकालका लागि चुनिएका ओबामाको दोश्रो वर्षको संबोधन विगतको जस्तो आशा जगाउने खालको थिएन।

बरु उनले करोडौं अमेरिकी जनताको हात मुख जोडने विषय, स्वास्थ्य बीमा, न्यूनतम ज्याला तथा तालीम जस्ता विषयहरु उठाएका थिए।

उनी भन्छिन्, उनले अमेरिकी कँग्रेसले समर्थन गरे वा नगरेता पनि सामाजिक गतिशीलता बढाउने कुराप्रति आफ्नो ध्यान रहेको कुरा चाहिं स्पष्ट पारेका छन्।