संसदीय दलको नेता चयनमा ढिलाई

  • 29 जनवरी 2014
तस्वीर कपीराइट AP
Image caption मुख्य दलहरुबीचको आन्तरिक मतभेदले एक वर्षभित्रै संविधान बन्नेमा आशंका निम्त्याएको छ

संसदीय दलको नेता छान्ने सम्बन्धमा संविधानसभाका दोस्रो ठूलो दल नेकपा एमाले र तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी अहिलेसम्म अलमलमै छन्।

दुई दलबीच पार्टीभित्र शक्ति समीकरणबारे नेताहरुबीच सहमति हुन नसक्दा दलको नेता चयनमा ढिलाई भएको हो।

यद्यपि दुबै दलका नेताहरुले केही दिनभित्रै संसदीय दलको नेता चयन हुने बताएका छन्।

नेकपा एमालेको बुधबार बसेको स्थायी कमिटि बैठकले संसदीय दलको नेताबारे टुङ्गो लगाउने भनिए पनि कुनै निष्कर्ष निकाल्न सकेन।

समीकरण

संसदीय दलको नेता चयन अघि पार्टीभित्र शक्ति समीकरणबारे ती दलका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी ओली तथा उपाध्यक्ष वामदेव गौतमबीच पार्टीभित्र शक्ति समीकरणबारे सहमति हुन नसक्दा संसदीय दलको नेता चयनमा ढिलाई भएको बताइन्छ।

यद्यपि एमाले नेता युवराज ज्ञवालीले अहिलेसम्म संसदीय दलको नेता चयनबारे पार्टीभित्र औपचारिक रुपमा छलफल नभएको दावी गरे।

उनले भने, ''अहिलेसम्म हामीले कसलाई संसदीय दलको नेता बनाउने भन्ने विषयमा पार्टीभित्र औपचारिकछलफल गरेकै छैनौं।''

ज्ञवालीले बिहीबार पुनः बस्ने स्थायी कमिटि बैठकले संसदीय दलको नेता चयनबारे टुङ्गो लगाई केन्द्रीय कमिटिबाट अनुमोदन गरिने बताए।

यद्यपि उनले सहमतिमार्फत टुङ्गो नलागे निर्वाचन प्रक्रियबाट नेता चयन गरिने पनि जनाए।

मतभेद

एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकले पनि संसदीय दलको नेताबारे टुङ्गो लगाउन सकेको छैन।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठबीच जारी मतभेदका कारण संसदीय दलको नेता टुङ्गो लाग्न नसकेको हो।

सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले शुक्रबारसम्ममा संसदीय दलको नेताको टुङ्गो लाग्ने बताए।

उनले भने, ''अन्य महत्वपूर्ण विषयमा बैठक केन्द्रित भएकोले त्यसबारे छलफल हुन नसकेको हो। शुक्रबारसम्म हाम्रो पार्टीले संसदीय दलको नेताको टुङ्गो लगाउने छ।''

संविधानसभाका ठूला दलहरु आन्तरिक विवादमा अल्झिए त्यसले संविधान निर्माण प्रक्रियालाई पनि प्रभावित पार्ने स्पष्ट छ।